काँग्रेसको माग : ‘राजीनामा दिएर पुग्दैन, छानबिन हुनुपर्छ, प्रधानमन्त्रीले जवाफ दिनुपर्छ’
प्रमुख प्रतिपक्षी कांग्रेसले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरेको मोलमोलाइको अडियो प्रकरणबारे स्पष्ट पार्न सरकार र प्रधानमन्त्रीसँग माग गरेको छ । बिहीबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन गर्दै कमिसन मोलमोलाइ बाँस्कोटाको व्यक्तिगत प्रयास हो या सरकारको संस्थागत भन्ने प्रस्ट पार्न माग गरेका हुन् ।
‘सञ्चारमन्त्रीले राजीनामा दिएर मात्रै पुग्दैन । दृश्यमा आएकाबाहेक नेपथ्यमा अरू के–के भएका थिए राजनीतिक आग्रह, पूर्वाग्रह नराखी छानबिन गरिनुपर्छ,’ शर्माले भने, ‘घटनाको अनुसन्धान गर्ने निकायलाई प्रधानमन्त्रीले सहयोग गर्नुपर्छ । अनियमितताका लागि भएको संवाद व्यक्तिगत हो कि संस्थागत प्रस्ट पार्नुपर्छ ।’
मन्त्रीले राजीनामा दिएर मात्रै यो विषयले किनारा नपाउने भन्दै कांग्रेसले प्रधानमन्त्री जवाफदेही हुनुपर्ने जनाएको छ । ‘प्रधानमन्त्रीले भ्रष्टाचारीको मुख हेर्दिनँ भन्दै आउनुभएको छ । अब आफ्नै मन्त्रीको अडियो आएपछि हेर्दिनँ मात्रै भनेको हो, सुन्दिनँ भन्न मिल्दैन,’ प्रवक्ता शर्माले भने, ‘अनुहार नहेर्नुस्, तर आवाज सुन्नुहोस् । पृष्ठभूमिमा के भएको हो सत्यतथ्य बाहिर ल्याउनुस् ।’
यसै प्रकरणमा कांग्रेसले बिहीबार संसद् पनि अवरुद्ध गर्यो । प्रतिनिधिसभा र राष्ट्रिय सभाका दुबै बैठक अवरुद्ध गरेको हो । संसद्मा पनि कांग्रेसले राजीनामा मात्रै नभई कानुनी दायरामा ल्याउन माग गरेको छ । बालुवाटार जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले जग्गा फिर्ता गरेकाले कारबाही नभएजस्तै सञ्चारमन्त्रीले राजीनामा दिएपछि कारबाही नगर्ने छुट नभएको कांग्रेसको जिकिर छ ।
बिहीबारको प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, ‘प्रधानमन्त्रीले अब्बल सञ्चारमन्त्री बनाएको छु भनेर बारम्बार भन्नुहुन्थ्यो, तर यस्तै भ्रष्टाचारका नमुना बाहिर ल्याउन, भ्रष्टाचार गर्न उहाँले आफ्नो क्याबिनेटको एउटा मन्त्रीलाई यस्तो उपमा दिनुभएको रहेछ भन्ने लागेको छ ।’
दिउँसो १ बजे डाकिएको प्रतिनिधिसभा बैठक डेढ घन्टा ढिलो गरी सुरु भएको थियो । बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेस सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख अग्नि सापकोटाले भुसाललाई बोल्न समय उपलब्ध गराएका थिए ।
सञ्चारमन्त्रीलाई कानुनी दायरामा ल्याउँछु भनेर प्रधानमन्त्रीले सदनमै आएर प्रतिबद्धता व्यक्त गर्नुपर्ने भुसालको भनाइ थियो । भ्रष्टाचारीलाई कारबाही गर्ने भनेर प्रधानमन्त्रीले सदनमै पटक–पटक भनेकाले सञ्चारमन्त्रीको अडियोबारे पनि सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको जोड थियो । राजीनामा दिएर मात्र सदन खुलाउन नसकिने भुसालको भनाइ थियो ।
त्यसलगत्तै सभामुख सापकोटाले औपचारिक पत्र नआए पनि सम्बन्धित मन्त्रीले राजीनामा दिएको जानकारी गराएका थिए । सभामुख सापकोटाले भने, ‘माननीय सदस्यहरू, विषय प्रवेश भइसकेको छ । सम्बन्धित मन्त्रीले राजीनामा बुझाइसक्नुभएको अनौपचारिक जानकारी प्राप्त भएको छ ।’ सभामुखले राजीनामा दिएको जानकारी गराउँदा पनि कांग्रेसले विरोध नरोकेपछि सभामुखले सदन स्थगित भएको जानकारी गराएका थिए ।
त्यसअघि कांग्रेसले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेको थियो । कांग्रेस सांसद जितेन्द्रनारायण देवले स्विस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ सार्वजनिक हुनु गम्भीर भएको भन्दै सञ्चारमन्त्रीको राजीनामासहित तीन माग अघि सारेका थिए ।
सांसद देवले भने, ‘प्रधानमन्त्रीज्यू, यदि साँच्चै भ्रष्टाचारशून्य संस्कृतिको पक्षधर हो भने अविलम्ब सञ्चारमन्त्रीलाई बर्खास्त गर्नुपर्छ । यो घटनाबारे अविलम्ब दूधको दूध पानीको पानी हुने गरी छानबिन समिति बन्नुपर्छ । प्रस्ट रूपमा अडियो बाहिर आएपछि यो घटना के हो ? यसबारे नेपाल सरकारको तर्फबाट प्रधानमन्त्रीले सदनलाई जवाफ दिनुपर्छ ।’
माग पूरा नहुँदासम्म सदन चल्न नदिने भन्दै कांग्रेस सांसदले उभिएर विरोध गरेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् बैठक स्थगित गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
