पूर्वराजालाई ओलीको जवाफः दरबार हत्याकाण्ड र माघ १९ भुलेका छैनौं
काठमाडौं, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहको वक्तव्यप्रति असन्तुष्टि जनाएका छन् । र, दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला दिनहरु आफूहरुले अझै नभुलेको बताएका छन् ।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले पूर्वराजाको नाम नलिई यो प्रतिगामी सोचहरुको प्रकटीकरण भएको बताए ।
निर्वाचन आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भने, ‘केहीकेही मानिसले हामीलाई सल्लाह, सुझाव, उपदेश के दिन खोजेको हो कुन्नि ?
यसो सुनिन्छ, भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्दर भविष्यको कुरा गरेर जनताको मनोबल नउठाऊ, विगततिर हेर विगत । यो प्रतिगामी उद्देश्य सहितका सोचहरुको प्रकटीकरण हो ।’
पूर्वजहरुको गौरव र पौरखलाई सम्मान गर्ने तर नकारात्मक कुराहरु पनि नभुल्ने उनले बताए । हाम्रो स्मरण शक्ति कमजोर, इतिहास भुल्छौं भन्ने सोचेको होला भन्दै प्रधानमन्त्री ओलीले भने, ‘धेरै टाढा जानु पर्दैन, नजिकैका दरबार हत्याकाण्ड जस्ता घटनाहरु अथवा माघ १९ जस्ता काला उद्देश्यका प्रकटीकरण भएका काला दिनहरु सम्झिरहेका छौं । ती दिनहरु पार गरेरै आएका हौं ।’
उनले लोकतन्त्रिक गणतन्त्रको रक्षा, सुदृढिकरण र विस्तार जनस्तरसम्म गर्न चाहेको बताए ।
