कोरोना प्रकोप नियन्त्रण प्रयासः हुबेमा हिँडडुल गर्न प्रतिबन्ध

तु खबर संवाददाता
२०७६ फाल्गुन ५, सोमबार १२:२६
filr-photo

कोभिड–१९ नाम दिइएको कोरोनाभाइरसको संक्रमण अन्त्यका लागि थप कदमहरु चालेको छ । चीनले प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ।

अब हुबेका स्थानीयबासीलाई आपत् परेको बेला बाहेक घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ।

हुबे प्रान्त र राजधानी वुहान नयाँ कोरोनाभाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ । कोरोना भाइरसका कारण १ हजार ७७५ जनाको मृत्यु भइसकेको छ भने ७१ हजार ३३१ जना संक्रमित भइसकेका छन् ।

तर चीनले आइतवार लगातार तेस्रो दिन कोरोनाभाइरसको सङ्क्रमण घटेको घोषणा गर्दै सङ्क्रमण फैलिनबाट रोकिरहेको बताएको थियो।

नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट हुने रोगलाई कोभिड–१९ नाम दिइएको छ। यो सङ्क्रमणमा बिरामीलाई श्वासप्रश्वाससम्बन्धी समस्या हुन्छ।

हुबेका मानिसहरूलाई घरभित्रै रहन भनिए पनि उनीहरू आपतकालीन अवस्थामा बाहिर निस्किन पाउनेछन्।

त्यसका साथै खाद्यान्न तथा अन्य सामान खरिद गर्न दिनका निम्ति प्रत्येक घरबाट एक जनालाई तीनतीन दिनमा बाहिर निस्किन अनुमति दिइनेछ।

हाउजिङहरूको एउटा प्रवेशद्वार खुला राखिनेछ। त्यहाँ बस्ने मानिसहरूले मात्रै आउजाउ गर्ने कुरा सुनिश्चित गर्नका लागि सुरक्षा निगरानी गरिनेछ।

औषधि पसल, होटल, खानेकुरा विक्री हुने पसल र चिकित्सकीय सेवाबाहेक अरू सबै कारोबार बन्द रहनेछन् ।

अत्यावश्यकीय सामान ओसारपसारमा प्रयोग हुने कारलाई भने गुड्न छुट दिइनेछ।

यसैबीच अधिकारीहरूले राजधानी बेइजिङ फर्किने सबै मानिसलाई १४ दिनसम्म क्वारन्टीनमा बस्न अथवा दण्ड भोग्न चेतावनी दिएका छन्।

नयाँ कोरोनाभाइरसको संक्रमण फैलिन नदिने प्रयासस्वरूप चीनको केन्द्रीय बैंकले बजारमा नोटहरू पठाउनुअघि भाइरसमुक्त बनाउन निर्मलीकरण गर्नेछ भने प्रयोग भइसकेका नोट भण्डारण गर्नेछ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*