कोरोना भाइरसका कारण पहिलो पटक युरोपमा एक जनाको ज्यान गयो
चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण युरोपमा पहिलो पटक एक जनाको मृत्यु भएको छ ।
कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा एक जनाको मृत्यु भएको हो ।
फ्रान्स घुम्न पुगेका चीनको हुबेइ प्रान्तका ८० वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । यसअघि चीनबाहिर जापान, हङकङ र फिलिपिन्समा एक एक जनाको मृत्यु भएको थियो ।
ती व्यक्ति नोवेल कोरोना भाइरसको इपिसेन्टरका रुपमा रहेको हुबेइबाट १६ जनवरीमा फ्रान्स पुगेका थिए । उनलाई २५ जनवरीदेखि अस्पतालमा राखिएको थियो । योसँगै चीनबाहिर चार जनाको ज्यान गएको छ ।
चीनमा नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ हजार ६६९ जनाको मृत्यु भएको छ ।
आइतबार दिइएको जानकारी अनुसार हुबेइमा थप १८ सय ४३ जनामा नयाँ संक्रमण देखिएको छ । चीनमा अहिलेसम्म ६८ हजार भन्दा बढीमा नोवेल कोरोनाको संक्रमण पुष्टि भएको छ ।
चीन बाहिर २६ देशमा ५ सय जना भन्दा बढीमा नोवेल कोरोनाको संक्रमण भएको छ । संक्रमण नियन्त्रणका लागि खटिएका १७ सय १६ जना स्वास्थ्यकर्मीमा समेत संक्रमण भएको छ । अहिलेसम्म नोवेल कोरोनाका कारण ६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको जनाइएको छ । एजेन्सी
