बालुवाटार जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दा प्रधानन्यायधीशको इजलासमा
काठमाडौं, २ फागुन । बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध दायर रिटको शुक्रबार पेसी तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै इजलाशमा पेसी तोकेका हुन् ।
सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध उत्प्रेषणको आदेश माग गर्दै परेको रिटमा प्रधानन्यायधीश राणाको इजलासमा सुनुवाइका लागि पेसी चढेको जानकारी दिए। सुनुवाइ केहीबेरमा सुरु हुने पौडेलले बताए।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएकाले पुनः मुद्दा चलाउन आदेश दिनुपर्ने माग गर्दै बुधबार रिट दायर गरेका थिए।
अख्तियारले मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णय भएकाले आयोगको क्षेत्राधिकारभित्र नपर्ने भन्दै नेपाल र भट्टराई छोडेर ४ मन्त्रीसहित १७५ जनालाई माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।
