हेटौंडा–धुलिखेल बिजुली बसः फागुन दोस्रो हप्ताभित्र ग्लोबल टेण्डर

तु खबर संवाददाता
२०७६ फाल्गुन २, शुक्रबार १२:२२

हेटौंडा, २ फागुन । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी प्रदेश राजधानी हेटौंडादेखि धुलिखेलसम्म आफैं बिजुली बस सञ्चालन गर्ने योजनालाई तीव्रता दिएको छ ।

प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘प्रदेश यातायात निगम’ स्थापनाको तयारी अघि बढाइसकेको छ । २०७७ भित्र बागमती प्रदेशमा बिजुली बस सञ्चालन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले उप–समिति बनाएर कामलाई तीव्रता दिएको हो ।

भौतिक योजना मन्त्रालय अन्तर्गत् विद्युतीय सवारी साधन सरसफाई इकुमेण्ट खरिद सहजीकरण समितिले बिजुली बस सञ्चालन सम्बन्धी कार्यलाई द्रुत गतिमा अगाडि बढाएको समिति संयोजक तथा प्रदेश सांसद दीपक निरौलाले बताए ।

निरौलाका अनुसार फागुन दोस्रो हप्ताभित्र बिजुली बस खरिदको लागि ग्लोबल टेण्डर खोल्ने तयारी भइरहेको छ । उनले मन्त्रालयलाई प्रतिवेदन बुझाउना साथ बिजुली बस खरिद गर्न ग्लोबल टेण्डर निस्किने जानकारी दिए । बिजुली बस खरिदलगायतका पूर्वाधार निर्माण गर्न ३४ करोड बजेट प्रदेश सरकारसँग रहेको निरौलाल बताए ।

समितिले यही फागुन ६ गतेसम्म प्रदेशको भौतिक योजना मन्त्रालयलाई बिजुली बस सञ्चालन सम्बन्धी प्रतिवेदन दिने संयोजक निरौलाले जानकारी दिए । प्रतिवेदनमा बिजुली बस सञ्चालन प्रक्रिया, बस सञ्चालन हुने रुट, चार्जिङ स्टेशनलगायतका विषय समेटिने उने बताए । समितिअन्तर्गत् २ वटा उप समिति गठन गर्दै बिजुली बस सम्बन्धमा छलफल भइरहेको छ ।

बागमती प्रदेश मन्त्रीपरिषद्ले दुईमहिना अघि प्रदेश यातायात निगम गठन सम्बन्धमा संघीय सरकारलाई अनुरोध गरिसकेको उनले जानकारी दिए । निरौलाका अनुसार संघीय सरकारले यातायात निगम गठन गर्ने अनुमति दिएपछि प्रदेश यातायात निगम विधेयक प्रदेशसभामा पेश हुनेछ ।

‘प्रदेश यातायात निगम विधेयक तयारी अवस्थामा छ । संघीय सरकारले अनुमित दिनासाथ हामी विधेयकलाई प्रदेशसभामा लैजान्छौं ।’ निरौलाले तु खबरसँग भने,’ प्रधानमन्त्री कार्यालयले उद्योग मन्त्रालयमा प्रदेश यातायात निगम सम्बन्धी निवेदन पठाइसकेको छ । उद्योगले कानुन मन्त्रालयसँग राय मागेको छ ।’

बिजुली बस हेटौंडा–नारायणगढ–काठमाडौं हुँदै धुलिखेलसम्म सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
प्रदेश सरकारले यसअघि निजी क्षेत्रको साझा यातायातसँग प्रदेशभित्र बिजुली बस चलाउन सहमती गरेको थियो ।

बिजुली बस सञ्चालन गर्न ३० करोड साझालाई दिने निर्णय गरेसँगै काठमाडौंस्थित राष्ट्रिय सभागृहमा २०७६ असार १६ गते साझासँग सहमती गरेको थियो । सहमती तोड्दै प्रदेश सरकार आफैंले बिजुली बस चलाउने प्रक्रिया अगाडि बढाइसकेको छ ।

तर, साझासँग सहमती तोड्दै अब बागमती प्रदेश आफैंले बिजुली बस चलाउने भएको हो ।

बिजुली बस सञ्चालनमा साझा यातायातबाट त्रुटी भएको भन्दै मुख्यमन्त्री डोरमणी पौडेलले माघ ५ गते काठमाडौं, ललितपुर, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, बुढानिलकण्ठ, टोखा, धुलिखेल नगरपालिका र गजुरी, गल्छीलगायतका गाउँपालिकासँग बिजुली बस सञ्चालन गर्ने विषयमा छलफल गरेका थिए ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*