यसरी मनाइयो मकवानपुरमा जनयुद्ध दिवस, १९ जना मारिएको ठाउँ पुगेर श्रद्धाञ्जली

तु खबर संवाददाता
२०७६ फाल्गुन १, बिहीबार १७:०९
भिमानस्थित एक घरमा तत्कालिन नेकपा माओवादीका १९ जना नेता तथा कार्यकर्ताहरुले ज्यान गुमाएको घरमा आयोजित श्रञ्द्धाजली कार्यक्रम ।

हेटौंडा, १ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरको आयोजनामा २५ औं जनयुद्ध दिवस मनाइएको छ । मकवानपुरगढीमा रहेको तत्कालिन माओवादीका कमाण्डर रुद्र पाख्रिन स्मृति पार्क, बकैयामा रहेको रुद्र शान्ति बाटिका र मनहरीको भिमादमा पुगेर जनयुद्ध दिवस मनाइएको हो ।

मकवानपुरको पश्चिमी क्षेत्र मनहरी गाउँपालिका–२ साविकको हाँडीखोला–४ पर्ने भिमानमा तत्कालिन माओवादीका १९ जना मारिएको स्थानमा पुगेर जनयुद्ध दिवसको अबसरमा श्रद्धाञ्जली व्यक्त गरिएको छ । नेकपा मकवानपुरकी सहइञ्चार्ज एवम् प्रदेश सांसद कुमारी मोक्तानको प्रमुख आतिथ्यता कार्यक्रम भएको छ ।

२०६० साल माघ १० गते भिमानस्थित एक घरमा १८ जना तत्कालिन माओवादी कार्यकर्ता र १ वृद्ध महिलालाई नेपाली सेनाले गोली हानेर मारेको थियो । घरमा बसिरहेको बेलामा नेपाली सेनाले १८ जना माओवादी कार्यकर्ता र १ वृद्ध महिलालाई मारेको मोक्तानले स्मरण गरिन् ।

मकवानपुर, बारा र पर्साका तत्कालिन माओवादीका नेता नेताहरु बासु लामिछने (बिकास), तेज नारायण पाण्डे (राजु), मुक्ती विक, लक्ष्मी आपागाइ (चेतना), गिता विक लगायत १८ जनाको टोली बसिरहेको घरलाई घेरा हालेर सेनाले मारेको थियो ।

माथिबाट गन्दा तेस्रो घर जहाँ १९ जना माओवादी नेता, कार्यकर्ता नेपाली सेनाको कारबाहीमा मारिएका थिए ।

आज बिहीवार बिहान मकवानपुरगढी गाउँपालिका–३ मक्राञ्चुलीमा रहेको जनयुद्धकालिन शहीद रुद्र पाख्रिनको साढे ६ फिट अग्लो ग्लास फाइबरबाट निर्मित पूर्णकदको प्रतिमा माल्यापर्ण गरेका छन् ।

नेकपा केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका सहइञ्चार्ज तथा प्रदेश सांसद मोक्तान, अर्का सहइञ्चार्ज रामेश्वर राना, नेकपा मकवानपुरकी संयोजक तथा प्रदेश सांसद मुनु सिग्देल, सहसंयोजक तथा प्रदेश सांसद प्रेमबहादुर पुलामी, मकवानपुरगढी अध्यक्ष बिदुर हुमागाईंलगायतले जनयुद्धको स्मरण गर्दै पख्रिनलाई श्रद्धाञ्जली व्यक्त गरे ।

पाख्रिनलाई नेपाली सेनाले मारेको थियो । २०५४ सालबाट पूर्णभूमिगत भएर राजनीतिक गतिविधि सञ्चालनमा सक्रिय जनयुद्धकालिन कमाण्डर पाख्रिनलाई २०५९ पुस २८ गते विहान करिब साढे ८ बजे तत्कालिन नेपाली सेना र प्रहरी टोलीबाट हालको बकैया गाउँपालिकामा पाख्रिनको हत्या भएको थियो ।

यसैगरी पाख्रिनकै स्मृतिमा बकैया गाउँपालिका साविकको छवितन गाविस गरगरेमा निर्मित रुद्र शान्ति पार्कमा पनि जनयुद्धको स्मकरण गर्दै दिवस मनाइएको छ । पाख्रिनको अर्धकदको प्रतिमामा मल्यापर्ण गरिएको थियो ।

मकवानपुरगढीस्थित तत्कालिन माओवादी कमाण्डर रुद्र पाख्रिन स्मृति पार्कमा आयोजित कार्यक्रम । पाख्रिनको प्रतिमामा मल्यापर्ण गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*