बागमती प्रदेशमा महिलालाई मन्त्री बनाउन माग
हेटौंडा, १ फागुन । बागमती प्रदेश सरकारमा एउटा पनि महिला मन्त्री नरहेको भन्दै सत्तारुढ दल नेकपा, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र विवेकशील नेपाली दलले विरोध जनाएका छन् ।
संविधानमा ३३ प्रतिशत महिला सुनिश्चितता गरिए पनि प्रदेश मन्त्रिपरिषद्मा लागू नभएको भन्दै प्रदेश सांसदहरुले सरकारको आलोचन गरेका हुन् । सांसदहरुले बागमतीमा महिला मन्त्री बनाउनु पर्ने माग राखेका छन् । बागमती प्रदेशमा ११० सांसदमध्ये ३७ जना महिला छन् ।
बुधबारको प्रदेशसभा बैठकमा बोल्दै सत्तारूढ नेकपा, प्रतिपक्षी कांग्रेस र विवेकशील नेपाली दलले यस्तो माग अघि सारेका हुन् । प्रदेश सरकार समावेशीको सिद्धान्त र संविधानअनुसार नबढेको भन्दै महिलालाई मन्त्री बनाउन सांसदहरूले माग गरेका हुन् ।
बागमती प्रदेश सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेका बेला सांसदहरु महिला मन्त्री बनाउनु पर्ने माग संसदमा उठाएका हुन् । मंगलबार मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक तथा योजना मन्त्रीमा रामेश्वर फुयाललाई नियुक्त गरेका थिए । तर, बुधवार नै हुने भनिएको फुयालको सपथ रोकिएको छ ।
नेकपा मकवानपुरको संयोजकसमेत रहेकी सांसद मुनु सिग्देल, रमेश पौड्याल, भीमसेन खत्री, विजया केसीले मन्त्रिपरिषद्मा महिलालाई पनि स्थान दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।
‘प्रदेश सरकारले समावेशिताको अभ्यास गर्न सकेन् । अब सरकारको अवधि तीन वर्षमात्र रहेको छ,’ सांसद सिग्देलले भनिन्, ‘पार्टीले दिएको सम्पूर्ण जिम्मेवारी महिलाले पूरा गरिरहेका छन् । जिम्मेवारी दिने मन्त्री नदिने ?’
संविधानमा ३३ प्रतिशत महिला सुनिश्चितता गरिए पनि मन्त्रिपरिषद्मा लागू नभएको सांसद् रमेश पौड्यालको भनाइ थियो ।
