ठाकुर ज्ञवाली प्रहरीको २७ औं महानिरीक्षक
काठमाडौं, २८ माघ ।मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७ औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको छ ।
प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले आईजीपीमा बनाएको हो ।
हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकास पाउने भएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो।
आईजीपी खनालको आजै प्रहरी प्रधान कार्यालयमा बिदाई कार्यक्रम राखिएको छ। ज्ञवाली २०७५ असोजमा एसएसपीबाट डीआईजी र २०७३ असारमा एसपीबाट एसएसपीमा बढुवा भएका थिए।
आईजीपीमा बढुवा गर्नका लागि कोही एआईजी नभएका कारण यसपटक पनि सिधै डीआईजीबाट बढुवा गरिएको हो।
आईजीपीको दौडमा दुई डीआईजी तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय पनि थिए। उनीहरु पनि ज्ञवालीसँगै सेवा प्रवेश गरेका अधिकृत हुन्।
आईजीपीमा बढुवा भएका ज्ञवाली ३० वर्षे सेवाअवधि कायम रहे आगामी असार २४ गतेसम्म मात्रै सेवामा रहने छन्। त्यसपछि २०४९ सालमा सेवा प्रवेश गरेका अधिकृतहरु मध्येबाट आईजीपी चयन हुने छन्।
