हेटौंडामा गच्छदारको पक्षमा उर्लियो कांग्रेस, सडक अवरुद्ध

तु खबर संवाददाता
२०७६ माघ २६, आईतवार १७:५७

हेटौंडा, २६ माघ । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली कांग्रेसका भातृ संगठनले नेकपा सरकारको विरोध गर्दै प्रदर्शन र सडक अवरुद्ध गरेको छ ।

कांग्रेस मकवानपुरका भातृ संगठनहरुले हेटौंडास्थित पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक प्रतिशोध र बदनियत पूर्ण ढंगले आफ्नो पार्टीका नेतालाई भ्रष्टाचारको मुद्दा लगाएको र नेकपाका नेतालाई जोगाएको भन्दै आज आइतबार विरोधमा उर्लिएका थिए ।

नेपाल तरुण दलको संयोजनमा कांग्रेसका भातृ संगठनहरु नेविसंघ, महिला संघलगायतले संयुक्तरुपमा पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन राप्ती पुलमा गएर २१ मिनेट पूर्व–पश्चिम लोकमार्ग अवरोध गर्दै कोणसभा गरेको थियो ।

अख्तियारले ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित १ सय ७५ जनामाथि मुद्दा चलाएको छ ।

सोही प्रकरणमा मुछिएका नेकपाका महासचिव विष्णु पौडेल, माधव कुमार नेपाललगायतलाई कारबाहीको दायरामा नल्याएको भन्दै देशैभर कांग्रेसले विरोध प्रदर्शन गरिरहेको छ ।

अख्तियारले गच्छदारलाई मुद्दा दायर गरेपछि विरोधमा केही दिनयता कांग्रेस आन्दोलित छ । कांग्रेसले बिहीबार यता तीन पटक संसद् बैठकसमेत अवरोध गरिसकेको छ । आईतबार दिउँसो १ बजे बोलाइएको बैठक पनि कांग्रेस अवरोधका कारण सुरु हुन सकेन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*