‘पत्रकारहरुले हामी ठिक अरु बेठिक भन्ने मान्यता त्याग्नुपर्छ’
हेटौंडा, २५ माघ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पत्रकारहरुलाई हामीमात्रै ठिक अरु सबै बेठिक भन्ने मान्यतालाई त्याग्न आग्रह गरेका छन् ।
पौडेलले एउटा कुनै सामान्य घटनाको कारण सबैलाई बेठिक बनाउने दृष्टिकोणले समाजलाई राम्रो दिशा तर्फ नलैजाने बताए । ‘केही घट्ना र रिशले सबैलाई बेठिक बनाउँदा यो समाज कता जान्छ । यो सोच्नुपर्ने विषय हो । समान्य घटनाले दृष्टिकोण बनाउने हो ?’ उनले भने ।
प्रेस संगठन नेपाल बागमती प्रदेशको आज हेटौंडामा भएको प्रथम भेलालाई संबोधन गर्दै मुख्यमन्त्री पौडेलले एउटा कुनै प्रक्रियामा चित्त नबुझ्दा र पत्रकारहरुले भनेको कुरा सरकारले पुर्याउन नसक्दा दृष्टिकोण बदल्नु नहुने भन्दै देश समृद्धि तर्फ अगाडि नबढ्ने धारणा राखे ।
‘परिवर्तनको कुरा गर्ने अनि, एउटैमात्र उद्देश्य भनेको नेतालाई गाली गर्ने । नेतालाई गाली गरेपछि पत्रिका पनि बिक्ने, नराम्रो काम गरेको छ भने पत्रिका पनि बेच्ने । जबसम्म यो मानसिक्ता यो चिन्तन हामी भित्र रहन्छ त्यसले राम्रो गर्दैन ।–’ पौडेलले भने ।
संघीयतालाई असफल बनाउने काम गरिरहेका मान्छेहरुलाई ताली ठोकेर समर्थन गर्न नुहेन बताए । उनले देशलाई समृद्ध बनाउने योजनालाई सफल बनाउन पत्रकारहरु पनि लाग्नुपर्ने बताएका छन् ।
पौडेलले समाज परिवर्तन गर्ने दायित्व पत्रकारको पनि भएको बताउँदै सकारात्मक समाचारहरुलाई प्रथमिकता दिन अनुरोध गरे । प्रेस संगठन नेपालको बागमती प्रदेशको प्रथम भेलालाई संबोधन गर्दै मुख्यमन्त्री पौडेलले सञ्चार माध्यमहरुले नकारात्मकता प्रवाह गरेर नागरिकहरुमा नैराश्यता पैदा गराइदिन नहुने बताए ।
पत्रकारहरुले सरकारका राम्रा कामहरुको बारेमा जनतालाई सुसूचित गराउनुपर्ने उल्लेख गरेका छन् । पत्रकारहरु आफ्ना दायित्वहरुबाट पन्छिन नहुने उनको भनाई छ ।
उनले अवस्था अनुसार नेतृत्व अलग हुने गरेपनि सरकार भनेको देशको स्थायी राज्य सञ्चालक भएकोले सरकार प्रति नै बितृष्णा उत्पन्न गराउँदा जनताको नैराश्यता बढ्ने र राष्ट्रिया कमजोर हुने भन्दै मुख्यमन्त्री पौडेलले सरकार प्रति सकारात्मक भैदिन अनुरोध गरेका छन् ।
‘सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्नुपर्नेमा कतिपयले नराम्रोलाई नराम्रो भनिहाल्ने तर राम्रोलाई नदेख्ने र देखीहालेपनि नराम्रो गरी नै प्रस्तुतीकरण गर्ने गरेको देख्छु, त्यसले राम्रो गर्दैन ।–’ उनले भने ।
