महाअभियोगमा सफाइ पाएपछि ट्रम्पको ‘विजय उत्सव’

तु खबर संवाददाता
२०७६ माघ २४, शुक्रबार १३:१०

वासिंटन २४, माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगमा सफाइ पाएको एक दिनपछि ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्ना राजनीतिक प्रतिद्वन्द्वीको निन्दा गर्दै आक्रोश पोखे ।

‘ट्रम्प अक्‍वेटेड’ (ट्रम्प निर्दोष) शीर्षकमा समाचार प्रकाशित भएको पत्रिका देखाउँदै उनले आफ्नो सम्बोधनलाई पत्रकार सम्मेलन नभई ‘विजय उत्सव’ भएको बताएका थिए । उनले भने, “मैले जीवनमा गल्ती गरेको छु । मैले स्वीकार्नेछ । तर यो अन्तिम नतिजा हो ।”

उनले थपे, “हामीले केही गलत गरेका थिएनौं । तर, गलत माध्यमबाट नर्कबाट गुज्रियौं । यो खराब थियो । यो भ्रष्ट थियो ।” ह्वाइट हाउसको इस्ट रूममा आफ्ना समर्थक एवं मन्त्रिमण्डलका अधिकारीलाई साथमा राखेर ट्रम्पले भने, “अहिले हामीसँग निकै राम्रो शब्द छ । तर, यो यति राम्रो सुनिन्छ भन्‍ने मैले सोचेको थिएन ।” भावुक र पुलकित हुँदै ट्रम्पले थप, “यसलाई भनिन्छ पूर्ण निर्दोष ।”

उनले आफूबाट केही गलत नभएपनि आफूविरुद्धको महाअभियोग दुष्टता र बेइमानीबाहेक अरु केही नरहेको बताए । उनले डेमोक्रेटहरूलाई ‘दुष्ट, स्वार्थी र बेकामे’ मानिसहरूको संज्ञा दिएको बीबीसीले जनाएको छ । आफ्ना विरोधीहरूको अपमान गर्दै ट्रम्पले उनीहरु ‘क्षुद्र, घिनलाग्दा र खराब’ मानिसहरू रहेको बताएका थिए ।

उनले आगामी राष्ट्रपतिलाई यस्तो गलत आरोपमा महाअभियोग लगाउने दिन नआओस् भन्दै थपे, “यसपछि कुनै पनि राष्ट्रपतिलाई यस्तो नहोस् ।”

गत डिसेम्बरमा अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।

विपक्षी डेमोक्रेटिक पार्टीको बहुमत रहेको तल्लो सदनले महाअभियोग लगाए पनि ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो सदन सिनेटले सफाइ दिएको हो । माथिल्लो सदन सिनेटमा भएको बहसपछि बुधबार भएको मतदानमा ट्रम्क्पले महाअभियोगबाट सफाइ पाएका हुन् ।

शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मतले ट्रम्पले सफाइ पाए । यस्तै संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा ५३–४७ मतले ट्रम्पले सफाइ पाएका हुन् ।

सिनेटमा बुधबार भएको ऐतिहासिक मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । दुई अभियोग मध्ये एकमा पनि सिनेट मार्फत ट्रम्प दोषी ठहर भएको भए उनी बर्खास्त हुने थियो र सत्ता उपराष्ट्रपति माइक पेन्सको हातमा जाने थियो ।

तल्लो सदनले गएको डिसेम्बर १८ मा ट्रम्पमाथि महाअभियोग लगाउने पक्षमा मत दिएको थियो । तर माथिल्लो सदन सिनेटमा रिपब्लिकनको नियन्त्रण भएकाले महाअभियोगमार्फत ट्रम्पलाई ह्वाइट हाउसबाट हटाउने डेमोक्र्याटको प्रयास विफल भयो । १०० सिटको सिनेटमा ५३ रिपब्लिकन सिनेटर छन् । महाभियोग पारित हुनका लागि दुई तिहाई बहुमत चाहिन्थ्यो ।

ट्रम्प आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा दोस्रो कार्यकालका लागि चुनावी मैदानमा जाँदै छन् । महाअभियोगको सामना गरेर पुनः चुनावमा जाने पहिलो अमेरिकी राष्ट्रपति हुन् । अमेरिकाको इतिहासमा महाअभियोगको आरोप लाग्‍ने उनी तेस्रो राष्ट्रपति हुन् । यसअघि एन्ड्रियु जोन्सन र बिल क्लिन्टलाई महाअभियोगको आरोप लगाइएको थियो । बीबीसी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*