कांग्रेसलाई बिडारीले भने– ‘एक्लैले ड्याम ड्याम निर्णय गरेपछि मुद्दा लाग्छ’
हेटौंडा, २३ माघ । नेकपाका सांसद रामनारायण बिडारीले ललिता निवास र सरकारी जग्गा अनियमितता प्रकरणमा निजी निर्णय गरेकाहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएको बताएका छन् ।
राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा सांसद बिडारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद्बाट निर्माण भएको कानुनका आधारमा पूर्वउपप्रधानमन्त्री, मन्त्री, सरकारी कर्मचारीहरुलाई मुद्दा लगाएको प्रस्ट पारे ।
सरकारको आडमा अख्तियारले राजनीतिक प्रतिशोध साँध्न मुद्दा चलाएको कांग्रेसको आरोप तर्फ इंगित गर्दै उनले भने, ‘निजी निर्णय गरेका मान्छेलाई मुद्दा लाग्यो, नीतिगत निर्णय गरेकालाई मुद्दा लागेन । एक्लैले ड्यामड्याम निर्णय गरेपछि मुद्दा लाग्छ ।’
सरकारी जग्गा अनियमिततामा संलग्न तत्कालीन भौतिक पूर्वाधारमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित १ सय ७५ जनाविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसको विरोधमा प्रमुख प्रतिपक्षी कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।
स्वतन्त्र, निष्पक्ष र सक्षम भनिएको अदालतले मुद्दाका एक–एक केस्रा केलाएपछि गच्छदार लगायतलाई कारबाही हुने वा सफाइ पाउने बिडारीले बताए । उनले भने, ‘सबै नेपाली सही छ भन्ने हो । तर प्रमाणले बेइमान छ भन्ने देखायो भने भन्न पाइन्छ ।’
सरकारले सुन तस्कर, घूस काण्डमा मुछिएकालाई कारबाही गर्दा ‘ठूला माछा’ नसमातेको भन्दै विरोध गर्नेहरुले अहिले यो घटनाको विरोध गर्न नसुहाउने उनको तर्क थियो ।
बिडारीले भने, ‘कारबाही र्गयो भने मेरो मान्छे र्पयो भनेर गुहारगुहार भनेर रुनी, कारबाही नहुँदा किन कारबाही नर्गया भनेर बर्बाद भो भन्ने । यस्तो अवस्था कहिलेसम्म नेपालले खप्ने?’
संसदबाट बनाएको कानुनअनुसार कसलाई मुद्दा चलाउने, कसलाई नचलाउने भन्ने निर्णय गर्ने एकमात्र अधिकारी महान्यायाधिवक्ता रहेको उल्लेख गर्दै उनले भने, ‘अब महान्यायाधिवक्तालाई खबरदार ! मेरो मान्छेलाई किन मुद्दा चलाएको, तेरो मान्छेलाई किन नचला भनेर ठिँ ठिँ गर्न मिल्यो र !’
