बागमती प्रदेशको तयारीः ‘यातायात निगम’ बनाएर बिजुली बस सञ्चालन

तु खबर संवाददाता
२०७६ माघ २३, बिहीबार ११:३८
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल र आर्थिक मामिला मन्त्री कैलाश ढुंगेलले बिजुली सञ्चालनको लागि साझा यातायातलाई ३० करोडको डमी चेक हस्तान्तरण गर्दै

हेटौंडा, २३ माघ । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी आफैं बिजुली बस सञ्चालन गर्ने भएको छ ।

बागमती प्रदेश सरकारले यसअघि निजी क्षेत्रको साझा यातायातसँग प्रदेशभित्र बिजुली बस चलाउन सहमती गरेको थियो । बिजुली बस सञ्चालन गर्न ३० करोड साझालाई दिने निर्णय गरेसँगै काठमाडौंस्थित राष्ट्रिय सभागृहमा २०७६ असार १६ गते साझासँग सहमती गरेको थियो ।

तर, साझासँग सहमती तोड्दै अब बागमती प्रदेश आफैंले बिजुली बस चलाउने भएको हो । बिजुली बस सञ्चालनमा साझा यातायातबाट त्रुटी भएको भन्दै मुख्यमन्त्री डोरमणी पौडेलले माघ ५ गते काठमाडौं, ललितपुर, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका, बुढानिलकण्ठ, टोखा, धुलिखेल नगरपालिका र गजुरी, गल्छीलगायतका गाउँपालिकासँग बिजुली बस सञ्चालन गर्ने विषयमा छलफल गरेका थिए ।

बागमती प्रदेश सरकारले साझा यातायात आफ्नै ढंगबाट चल्न खोजेपछि सहमति तोडिए बताएको छ । प्रदेश सरकारले एसीसहितको बिजुली बस सञ्चालन गर्नुपर्ने सहमती गरेको थियो । सहमती तोड्दै प्रदेश सरकार आफैंले बिजुली बस चलाउने प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ । संघीय सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको तीन अर्ब रुपैयाँ फिर्ता लिने निर्णय गरेको थियो ।

प्रदेश सरकारले साझा यातायातलाई ३० करोड रकम दिने प्रतिबद्धता जनाउँदै डमी चेक हस्तान्तरण गरिएको थियो । उक्त रकमबाट विद्युतीय बस खरिदमा नै प्रयोग गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारी दिए ।

उनले भने, ’रकम साझालाई नदिने भनिएपनि निर्णय भइसकेको छैन, निर्णय भएपछि प्रदेश सरकारले आवश्यक तयारी गर्नेछ ।’

प्रदेश सरकारले बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी अघि बढाएको जनाइएको छ । यसका लागि आवश्यक छलफल भइरहेको उनले बताए ।

साझालाई विद्युतीय बस खरिदका लागि ३० करोड दिने सम्झौता गत असार १६ भएको थियो । प्रदेश सरकारसँगै सोही दिन बस खरिदकै लागि काठमाडौँ महानगरपालिकाले १० करोड र ललितपुर महानगरपालिकाले दुई करोड ५० लाख बराबरको शेयर खरिद गर्ने सम्झौता गरेका थिए ।

यी दुवै महानगरपालिकाले साझामार्फत नै बस खरिद गरी बस सञ्चालन गर्ने कि रकम फिर्ता लिने भनी निर्णय गरिसकेको छैनन् । विभिन्न स्थानीय तहले साझाको शेयर रकम खरिद गरेर विगतदेखि नै बस सञ्चालन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस्

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*