ट्रम्पले हात नमिलाउँदा सभामुख पेलोसीले च्यातिदिइन् भाषण

तु खबर संवाददाता
२०७६ माघ २२, बुधबार १९:१३

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार वार्षिक सम्बोधनका लागि पेलोसी नेतृत्वको ‘हाउस अफ रिप्रेजेन्टेटिभ’ मा उपस्थित भए ।

पेलोसीले ट्रम्पको स्वागत गर्दै हात मिलाउन खोज्दा ट्रम्पले अस्वीकार गरे । ट्रम्पले हात मिलाउन अस्वीकार गरेपछि डेकोक्रेटको बहुमत रहेको हाउस अफ रिप्रेजेन्टेटिभमा पेलोसीले ट्रम्पकै पछाडि उनको सम्बोधनको प्रतिलिपि च्यातेकी हुन् ।

राष्ट्रपति ट्रम्पले गरेको एक घण्टा १८ मिनेट लामो सम्बोधनमा आफूमाथिको महाअभियोगको कुरालाई बेवास्ता गरेका थिए । ट्रम्पको सम्बोधनलाई रिपब्लिकनहरुले उठेरै स्वागत गरेका थिए भने डेमोक्रेटहरु बसिरहेकै थिए ।

रिपब्लिनको बहुमत भएको माथिल्लो सदनले राष्ट्रपति ट्रम्पलाई पदको दुरुपयोग गरेको र कंग्रेसलाई अवरोध गरेको पक्षमा मतदान गर्ने अपेक्षा गरिएको छ । यस विषयमा स्थानीय समयानुसर बुधबार दिउँसो चार बजे माथिल्लो सदनमा मतदान हुने भएको छ ।

ट्रम्पविरुद्धको महाअभियोग लगाउने पक्षमा खुलेरै लागेकी अमेरिकी हाउस अफ रिप्रेजेन्टेटिभकी स्पिकर पेलोसीलाई हात मिलाउन अस्वीकार गर्दै राष्ट्रपति ट्रम्पले आफ्नो सम्बोधनको प्रतिलिपि दिएका थिए ।

उनीहरुबीच अघिल्लो बैठकदेखि बोलचाल भएको थिएन । पेलोसीले पनि राष्ट्रपतिलाई उच्च सुविधा र विशिष्ट सम्मानु दिने विषयमा बेवास्ता गरिन् । राष्ट्रपतिलाई सामान्य रुपमा कंग्रेसमा औपचरिक परिचय गराइन् ।

पेलोसीले ट्रम्पलाई सम्बोधनका ट्रम्पलाई बोलाउने क्रममा भनिन्, ‘कंग्रेस सदस्य, अमेरिकी राष्ट्रपति’ ।

जब ट्रम्पले आफ्नो भाषण सके । पेलोसी आफ्नो सिटबाट उठिन् र ट्रम्पकै पछाडि सम्बोधनको प्रतिलिपि च्याती दिइन् । उनले सञ्‍चारकर्मीसँगको कुराकानीमा भनिन्, विकल्पलाई विचार गर्दै सभ्यरुपमा उक्त कुरा गरिएको हो ।

पेलोसीले राष्ट्रपति ट्रम्पसँग हात मिलाउन अघि सरेको तस्बिर ट्विट गर्दै लेखेकी छन्, जनताका लागि डेमोक्रेटहरु मित्रताको हात अघि बढाउन कहिल्यै चुक्दैनन् । हामी जहाँ भए पनि साझा थलोको खोजिका लागि काम गर्छौं । तर, आफ्नो मुद्दामा भने कहिल्यै सँगै उठ्न सक्दैनौं ।

गत वर्ष राष्ट्रपति ट्रम्पमाथि पहिलोपटक महाअभियोग प्रस्ताव गरेपछि हाउस अफ रिप्रेजेन्टेटिभकी स्पिकर न्यान्सी पेलोसी र राष्ट्रपति ट्रम्प मंगलबार पहिलो पटक आमने–सामने भएका हुन् ।

ट्रम्पले आफ्नो सम्बोधन सुरु गर्नै लाग्दा रिपब्लिकन सांसदहरुले ट्रम्पलाई थप चार वर्ष भन्दै नारा लगाएका थिए । ट्रम्पले पनि आफू थप चार वर्ष राष्ट्रपतिमा दोहोरिने पक्का भएकोतर्फ संकेत गरेका थिए ।

सम्बोधनमा राष्ट्रपति ट्रम्पले भने, केवल तीन वर्षमै हामीले छरिएका अमेरिकनहरुको हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सफल भएका छौं । हामीले अमेरिकाको लक्ष्य बृहत बनाउन विशेष पहल गरेका छौं । निकै छोटो समयमा हामी अकल्पनीय रुपमा अघि बढ्दै छौं । हामी कहिल्यै पछाडि फर्किदैनौं ।

अमेरिकामा आगामी नोभेम्बरमा राष्ट्रपतीय निर्वाचन हुने भएको छ । –रोयटर्स

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*