‘म मन्त्री बन्ने हल्लाले आफैँ अचम्मित छु’

तु खबर संवाददाता
२०७६ माघ ११, शनिबार २०:०८

हेटौंडा, ११ माघ । बागमती प्रदेशको सत्तारुढ दल नेकपाका मुख्य सचेतक रामेश्वर फुयालले आफू मन्त्री बन्ने हल्लाले अचम्ममा परेको प्रतिक्रिया दिएका छन् ।

काठमाडौं क्षेत्र नम्वर ३ प्रदेश ख बाट निर्वाचित प्रदेश सांसद फुयाललाई बागमती प्रदेशको भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको जिम्मेवारी दिन लागेको खबरले केही दिनदेखि सञ्चारमाध्यममा स्थान पाइरहेका छन् ।

फुयालले जिम्मेवारी पाउन लागेको मन्त्रालयलाई विगतको एक घट्नाले चर्चित बनाएको थियो । तत्कालिन काठमाडौं महानगरपालिकाका नगर प्रमुख भइसकेका नेकपा नेता तथा प्रदेश सांसद केशव स्थापितले उक्त मन्त्रालय सम्हालेका थिए । मुख्यमन्त्रीले डोरमणि पौडेलले स्थापितलाई उक्त मन्त्रालयको जिम्मेवारीबाट बर्खास्त गरेका थिए ।

स्थापित भौतिक मन्त्रालयबाट बर्खास्त गरेपछि राष्ट्रिय राजनीतिमा हलचल मच्चिएको थियो । सोही मन्त्रालयको जिम्मेवारी फुयालले पाउने हल्लाले फेरि चर्चा बटुलिरहेको छ । यता फुयालले आफू भौतिक मन्त्री बन्न लागेको हल्ला गलत भएको बताइरहेका छन् ।

केही दिनदेखि सञ्चारमाध्ययममा आफु मन्त्री बन्ने कुरा आइरहे पनि सो हल्ला निराधार भएको उनले बताए । तु खबरसँग कुरा गर्दै उनले भने– ‘मलाई यो विषयमा औपचारिक जानकारी छैन, कसले र किन यो हल्ला फैलायो मलाइ नै अचम्म लागेको छ ।–’

हल्ला मात्रै होइन, बागमती प्रदेशकै एक मन्त्रीले फुयालले भौतिक मन्त्रालयको जिम्मेवारी पाउन लागेको बताएका छन् । फुयालले भने आफू मन्त्री बन्ने हल्लालाई गलत भन्दै केही थाहा नभएको बहाना गरिरहेका छन् ।

पुर्व संविधानसभा सदस्य भइसकेका फुयाल मुख्यमन्त्री पौडेलका विश्वासपात्र मानिन्छन् । हेटौंडालाई राजधानी बनाउन सकारात्मक भूमिका खेलेका कारण फुयालले मन्त्रालयको जिम्मेवारी पाउने हल्ला पहिले देखि चल्दै आएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*