अमेरिकी आक्रमणमा इरानको विशेष सैन्य फोर्सका प्रमुख मारिए
अमेरिकी आक्रमणमा इरानी फौजको विशेष सैन्य फोर्सका प्रमुख क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन् ।
सुलेमानीको शुक्रबार मृत्यु भएको इरानको रिभोलुशनरी गार्ड्सले पुष्टि गरेको राज्यनियन्त्रित टेलिभिजनले बताएको छ ।
यसअघि बग्दादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र आक्रमणमा केही व्यक्तिको मृत्यु भएको विवरण आएको थियो । राष्ट्रपति ट्रम्पले घटनापछि अमेरिकी झण्डा ट्विट गरेका छन् ।
अमेरिकी रक्षा मन्त्रालयले भनेको छ, ‘राष्ट्रपतिको निर्देशनमा अमेरिकी सेनाले कासिम सुलेमानीलाई मारेर विदेशमा रहेका अमेरिकी नागरिकको सुरक्षाका लागि निर्णायक रक्षात्मक कारबाही गरेको छ। यो कारबाही भावी इरानी आक्रमण योजनालाई कमजोर बनाउन लक्षित थियो।’
इरानले सुलेमानीको अमेरिकी हेलिकप्टर आक्रमणमा मृत्यु भएको बताएको छ । इरानी टीभीले सो आक्रमणमा इराकी विद्रोही नेता अबु महदी अल–मुहान्दीस पनि मारिएको समाचार प्रसारण गरेको छ। एजेन्सी
