हेटौँडामा कम्पनी रहेको ऋद्धिसिद्धि सिमेन्टलाई स्थानीयको १५ दिने अल्टिमेटम
मकवानपुर, १३ वैशाख । हेटौँडामा उद्योग रहेको ऋद्धिसिद्धि सिमेन्टलाई १५ दिनभित्र स्थानीयको समस्या समाधान गर्न माग गर्दै अल्टिमेटम दिइएको छ । विभिन्न माग राखेर हिजोबाट उद्योग चल्न नदिएका स्थानीयहरुले आजबाट १५ दिनभित्र समस्या समाधान गर्ने प्रतिवद्धता जनाएपछि उद्योग पूर्ववत् रुपमा चल्न दिएको स्थानीय नवराज वाइवाले बताए ।
कम्पनीका कारण धुँवा र ध्वनी प्रदुषण भई बस्नै नसक्ने स्थिति आएको र फेरी क्रशर प्लान्ट राख्ने काम अघि बढाइएको भन्दै क्रसर प्लान्ट राख्न नहुने र धुँवा र ध्वनी प्रदुषण हटाउने गरी उद्योगले काम गर्नु पर्ने माग उनीहरुको छ । कम्पनीको आधिकारिक व्यक्तिलाई बोलाएर १५ दिनभित्र समस्या समाधान गर्ने गरी आजबाट उद्योग चल्न दिइएको वाइवाले बताए ।
आज विहानै व्यापक रुपमा प्रहरी परिचालन गरी उद्योग खोल्न दबाब दिइएको स्थानीयले बताए । उद्योग नखोले कारवाही गर्ने चेतावनी दिँदै टन्नै प्रहरी पठाइएको थियो, हामी संयमित भएर १५ दिनभित्र समस्याको समाधान गर्न भनेका छौँ, स्थानीयहरुले भने ।
