हेटौंडामा राप्रपाका कार्यकर्तामाथि प्रहरीले लठ्ठी प्रहार गरेपछि…
मकवानपुर ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्म निरपेक्षताविरुद्ध आज हेटौंडामा गरेको प्रर्दशनमा प्रहरीले हस्तक्षेप गर्दा पार्टीका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरुमा राप्रपाको जिल्ला नेता कृष्ण विडारी र राईगाउँका कृष्ण खुलाल रहेका छन् ।
पार्टी कार्यालय सानोपोखराबाट र्यालीसहित आएको राप्रपाले सिमाचोकमा धर्मनिरपेक्षतासम्बन्धी लेखिएको व्यानर तथा पोष्टर जलाउन लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीको लठ्ठी प्रहारबाट घाइते भएका उनीहरुको अहिले उपचार भइरहेको राप्रपाका नेता गुरुप्रसाद सापकोटाले जानकारी दिए ।
हिन्दू राष्ट्र पुनः कायम गर्नुपर्ने लगायतका २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेको राप्रपाले आज देशका विभिन्न जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको छ ।
