केपी ओली नेतृत्वको दुई तिहाइ सरकार पूर्ण रुपमा असफल

तु खबर संवाददाता
२०७५ चैत्र ३०, शनिबार १२:५५

सप्तरी ३० चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी ओली नेतृत्वको दुई तिहाइ बहुमतप्राप्त सरकार पूर्ण रुपमा असफल भइसकेको दाबी गरेका छन् । नेता सिंहले सरकार विधि र प्रक्रियाविपरीत चलेको भन्दै कटाक्षसमेत गरे ।

‘जनताले यो सरकार बनेदेखि नै शान्ति सुरक्षाको अनुभूति गर्न पाएका छैनन्, भ्रष्टाचार लगातार बढिरहेको छ’, सरकारबारे प्रकाशमानको मूल्यांकन छ, ‘सरकारले समृद्विको नारा दिए पनि आफैं त्यसविरुद्व काम गरिरहेको अवस्था छ ।’

बजेट खर्च र छनौट भएका योजना पूरा गर्न नसक्नु पनि सरकार असफल छ भन्ने अर्को दृष्टान्त भएको नेता सिंहको भनाइ छ ।

प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार हुन नदिने बताए पनि सुनकाण्ड र वाइडवडीमा भ्रष्टाचार गर्नेलाई संरक्षण दिएर आफ्नो बोली आफैंले परिवर्तन गरेको आरोप नेता सिंहको छ ।