नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित : प्रधानमन्त्री
भक्तपुर २८ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको एकिकरण र नेपाली सेनासँगको सम्बन्ध अन्योन्याश्रित रहेको बताएका छन् । सैनिक अधिकृतहरुको दिक्षान्त समारोहलाई आज खरिपाटीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता र राष्ट्रिय हितहरुको संरक्षण गर्ने कार्यमा नेपाली सेनाले विगत देखि नै उल्लेखनीय कार्य गरेको स्पष्ट पारेका छन् । ‘नेपाली सेना सदैव संवैधानिक सरकारको मातहत र निर्देशनमा आफूलाई व्यवसायीक र मर्यादित संगठनको रुपमा स्थापित गर्दै आएको छ ।’
प्रधानमन्त्री ओलीले भने, ‘आफ्नो विशिष्ट सांगठनिक क्षमताका आधारमा देशभित्र विपद् व्यवस्थापन, राष्ट्र निर्माणका कार्यहरु, नागरिक सैनिक सम्बन्ध विस्तार र राष्ट्रिय संकटमा नेपाली जनताप्रति बफादार रही नेपाली सेनाले काम गर्दै आएको छ ।’
