सूचना प्रविधि क्षेत्रले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने : मन्त्री बास्कोटा

तु खबर संवाददाता
२०७५ चैत्र २४, आईतवार १३:१८

काठमाडौं २४ चैत्र । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने सरकारको लक्ष्यपूरा गर्न सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

सूचना प्रविधिका क्षेत्रमा कार्यरत चिनियाँ कम्पनी हुवावेद्वारा आज आयोजित नेपाल मोबाइल काँग्रेस २०१९ को उद्घाटन गर्दै उनले सरकार सूचना प्रविधिमैत्री नेपाल (डिजिटल नेपाल) बनाउने लक्ष्यमा सक्रिय रहेको बताए ।

मन्त्री बास्कोटाले सूचना प्रविधिको विकास, आविष्कार तथा प्रयोग गर्दै नेपाल डिजिटल यात्रामा अगाडि बढेको चर्चा गर्दै यस कार्यमा सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

हालै सम्पन्न लगानी सम्मेलनले सूचना प्रविधिको विकास र विस्तारमा जोड दिएको मन्त्री बाँस्कोटाले बताए । मन्त्रालयले सूचना प्रविधिको पछिल्लो पुस्ता ‘फोर जी’ विस्तारमा उच्च प्राथमिकताका साथ काम अगाडि बढाइएको जानकारी दिँदै उनले फोर जी पछि फाइव जी कार्यान्वयनको तयारीमा सरकार लाग्ने उल्लेख गरे ।