मुख्यमन्त्रीको स्कटिङ मोह, हेटौँडा वडा प्रहरीको भ्यान दिनभरि २ नम्वर प्रदेशमा
मकवानपुर, १९ चैत । वडा र जिल्ला प्रहरी कार्यालयको कामै भिआइपीहरुको अघिपछि लाग्ने भएको छ । भिआइपीहरुको सुरक्षाको नाममा अनावश्यक स्कटिङ गर्नुपरेपछि अन्य घटनाहरुमा लाग्न प्रहरीलाई हम्मेहम्मे परेको छ ।
सिमित स्रोतसाधनको अभावमा दिनरात नागरिक सुरक्षाका लागि खटिनुपर्ने प्रहरी मुख्यमन्त्री, मन्त्री तथा अन्य बिशिष्ठको स्कटिङमा व्यस्त हुनु परिरहेको छ । यसलाई प्रहरीले प्रोटोकल अनुसार आफ्नो ड्यिुटी बताएको भएपनि अनावश्यक काममा प्रहरीको स्रोतसाधन क्षति भइरहेको छ ।
प्रदेशको राजधानी हेटौंडामा भीआइपीहरुको स्कटिङका लागि छुट्टै टिम र सवारीसाधन छैन । मौजुदा प्रहरीको संख्या यसै अपुग छ भने सवारीसाधन र त्यसमा प्रयोग हुने इन्धन पनि प्रयाप्त छैन । जसले गर्दा बिशिष्ठहरुको स्कटिङमा प्रहरीले दवाव महसुस गर्नुपरिरहेको छ ।
तर, मकवानपुर प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराई भने प्रहरीको असहजता भन्दा पनि प्रोटोकल अनुसारको सुरक्षा दिने जिम्मेवारी प्रहरीकै भएको बताउँछन् । बिशिष्ठहरुले मलाई स्कटिङ चाहियो भनेर माग्ने गर्नुभएको छैन, प्रहरीले आफै बुझेर सुरक्षा दिनुपर्ने उनले दावी गरे । ‘यो उहाँहरुले माग्ने विषय होइन, हामीले मर्यादा र सुरक्षा चुनौती बुझेर स्कटिङ गर्नुपर्ने विषय हो, उनले तु खबरसँग भने ।
हिजो बारा पर्सामा भएको क्षतिको अनुगमन गर्न प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेल वडा प्रहरी कार्यालय हेटौंडाको सवारीसाधन लिएर पुगे । वडा प्रहरीको भ्यानले मुख्यमन्त्रीलाई स्कटिङ गर्दै बारा घुमाएर ल्यायो । मुख्यमन्त्री पौडेलले वडाको प्रहरी भ्यान नलैजाउ भनेर प्रहरीलाई भनेनन् । जसले गर्दा प्रहरीले दिनभरि जसो सो भ्यान मुख्यमन्त्री भएकै क्षेत्रमा राखेर स्कटिङ गरिरह्यो ।
हिजो चैत १८ गते बारा पुगेका प्रदेश नं. ३ का मुख्यमन्त्रीलाई वडा प्रहरी कार्यालय हेटौंडाको भ्यानले बिहान ९ बजेपछि बेलुकी ५ बजेको आसपास सम्मै स्कटिङ गरिरहेको थियो । यो अनावश्यक रवाफ देखाउने कार्य हो, नेपाल प्रहरीका एकजना बरिष्ठ अधिकारीले भने ।
मुख्यमन्त्रीको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेनानै खटाइएको छ । त्यसबाहेक पनि स्कटिङमा वडा र जिल्लाका सवारीसाधन र जनशक्तिको अनावश्यक प्रयोग भइरहेको छ ।
सुरक्षा आवश्यक वा रवाफ ?
मुख्यमन्त्रीको सुरक्षामा नेपाली सेना र प्रहरी पहिलेनै खटाइएको हुन्छ । मन्त्रीहरुको सुरक्षामा पनि पीएसओको रुपमा सुरक्षाकर्मी रहेकै हुन्छन् । त्यसका अलावा पनि मुख्यमन्त्री तथा मन्त्रीहरुले प्रहरीलाई स्कटिङ गराउँछन् । प्रहरी पनि सुरक्षाको नाममा चाकडीमा रमाउने गरेको छ ।
भीआइपीलाई मात्र होइन, सामान्य नागरिकलाई पनि प्रहरीले सुरक्षाको प्रत्याभूती गराउनुपर्दछ । भीआइपीले पनि सुरक्षा अनुभूती गर्न पाउनु पर्दछ, तर अनावश्यक रुपमा आफ्नो क्षेत्रभन्दा बाहिर मुख्यमन्त्रीको स्कटिङमा जानु पर्ने अवस्था कसरी बन्यो, यो छानविनको विषय बन्नु पर्ने एक जना पूर्व बरिष्ठ प्रहरी अधिकारीले बताए ।
प्रदेश प्रहरी कार्यालय हेटौंडाले भने बिशिष्ठहरुको स्कटिङ आफ्नो ड्यिुटी भएको जनाएको छ । अहिलेसम्मको प्रचलन त्यस्तै रहेको र उनीहरुको सुरक्षा थ्रेट मुल्याङ्कन गरेर स्कटिङ र अन्य सुरक्षा प्रबन्ध मिलाउने गरिएको सो कार्यालयले जनाएको छ ।
र, यो पनि पढ्नुहोस्
– हावाहुरी पीडितलाई एक करोड सहयोग रकम दिने प्रदेश ३ सरकारको निर्णय
