आन्तरिक विवादले काँग्रेस कमजोर भयो : सभापति देउवा
बुटवल । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आन्तरिक विवादले काँग्रेस कमजोर भएको बताएका छन् । नेपाली काँग्रेस गुल्मीको प्रथम ऐतिहासिक जिल्ला सम्लेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
देउवाले काँग्रेस पार्टीभित्रको आन्तरिक विवादले आफुहरु कमजोर भएको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका उनले एक नेपाली काँग्रेस आन्तरिक विवादका कारण कमजोर भएपनि काँग्रेस एकै ठाउँमा उभिने वितिकै बलियो हुने दावी गरे ।
चुनावमा काँग्रेसभित्र घात, अन्तरघात भएको उल्लेख गर्दै सभापति देउवाले आफ्नै साथीलाई हराएर बहादुरी देखाउनेलाई पहिचान गरी कारबाही नगर्दासम्म पार्टी बलियो नहुने तर्क गरे । ‘हामीहरुमै धेरै समस्याहरु छन्’ देउवाले भने, ‘निर्वाचनको समयमा आफुले टिकट पाउँदा सबै ठिक हुने, अर्कोले टिकट पाउँदा बेठीक हुने प्रवृत्तिले पाटी कमजोर भएको हो ।’
अहिले काँग्रेसमा अनुशासन कमिटी निर्माण भैसकेकाले अब पार्टीमा घात, अन्तरघात गर्नेलाई कडा कार्वाही हुने बताए । सभापति देउवाले अहिले देशमा कम्युनिष्ट शासन स्थापित गर्न लागिएको बताउँदै यसतर्फ काँग्रेसका सबै नेता कार्यकर्ताहरु सजग हुनुपर्ने बताए ।
उनले भने, ‘पार्टीलाई एक बनाएरु लैजानु आजको आश्यकता हो, पार्टी एकता भएन भने मुलुकमा कम्युनिष्ट शासन स्थापित हुन्छ ।’ लामो समयदेखि काँग्रेसमा घात–अन्तरघात र गुटको ठुलो रोग लागेकाले अब तलदेखि माथिसम्मै नेता कार्यकत्र्ताहरु एकताबद्ध भएर जानुपर्ने देउवाको भनाई रहेको थियो ।
