३ नम्बर प्रदेशको हिउँदे अधिवेशन आजबाट, राजधानीको विषयले प्रवेश पाउँदै
मकवानपुर १७ चैत । प्रदेश नम्बर ३ को हिउँदे अधिवेशन आजबाट सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । दिउँदे अधिवेशनमा लामो समयदेखि प्रदेशवासीको चासोको रुपमा रहेको राजधानीको विषयले पनि प्रवेश पाउने बुझिएको छ ।
राजधानी हेटौंडानै रहने वा अन्यत्र सार्ने भन्ने विषयमा र नामाकरणको विषयमा आजबाट सुरु हुने अधिवेशनमा छलफल गरिने सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार प्रदेश प्रमुख अनुराधा कोईरालाले आज दिउँसो ३ बजे अधिवेशनको लागि आव्हान गरेकी छिन् ।
मुख्यमन्त्री पौडेलले दावी गरे पनि भएन
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हिउँदे अधिवेशन अगावै प्रदेशको राजधानीको विषय टुङ्गोमा पुग्ने पटक–पटक दावी गरेका थिए । उनले अधिकाँश सार्वजनिक सभा तथा सम्मेलनहरुमा हिउँदे अधिवेशनअधि राजधानीको विषय टुङ्गीने भन्दै सबैलाई ढुक्क हुन आग्रह समेत गरेका थिए ।
तर अधिवेशन नजिकै आउँदासमेत राजधानीको विषय अन्यौलमै छ । केही समय अघि तु खबरसँगको विशो्ष कुराकानीका क्रममा पनि मुख्यमन्त्री पौडेलले अभिवेशन अघि नै राजधानी र नामाकरण टुङ्गो लगाउने बताएका थिए । उनले मतदान नगरी राजनीतिक सहमतिको आधारमा यि विषयहरु निक्र्यौलमा पुर्याउने बताए पनि त्यसो हुन सकेको छैन ।
राजधानीको विषय कहिले टुङ्गीने हो त्यसबारे भने प्रदेशवासी अझै अन्यौलमा छन् । राजधानीको विषय निचोडमा नपुग्नुमा मुख्यमन्त्री पौडेलनै बाधक रहेको आरोप उनले खेप्दै आएका छन् । उनले मुख्यमन्त्री पदसंग राजधानी साटेको आरोप पनि खेप्दै आएका छन् । पौडेलभने राजनीतिक सहमतिका आधारमा अघि बढ्ने सोचमा देखिन्छन् ।
प्रतिपक्ष धारणा कस्तो ?
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस प्रदेश ३ सरकारको काम प्रति सन्तुष्ट देखिँदैन । १ बर्ष पुरा भईसक्दा सरकारले जनताले अनुभूत गर्ने कुनै पनि काम गर्न नसकेको प्रतिपक्षले बताउँदै आएको छ ।
प्रतिपक्षले राजधानीको विषय नटुँगिएसम्म बैठक बस्न नदिने दाबी गर्दै आएको छ । मुख्यमन्त्री पौडेलले हिउँदे अधिवेशन अगाडिनै आन्तरिक छलफल र सहमति भैसक्ने बताएपनि उनले प्रतिबद्धता जनाएअनुसार काम नगरेको प्रतिपक्षको बुझाई छ ।
राजनीतिक सहमतिका आधारमा राजधानीको विषय टुङ्गो लगाउने बताएका मुख्यमन्त्रीको भनाईप्रति प्रतिपक्ष सन्तुष्ट नभएको बुझिएको छ । प्रतिपक्षले बैठक चल्न नदिने दाबी गरेको छ ।
अधिवेशमा ७ वटा विधेयक दर्ता
आजबाट सुरु हुने हिउँदे अधिवेशनमा अधिवेशनमा छलफलको लागि प्रदेश सचिवालयमा ३ वटा संशोधन वियेयक सहित ७ वटा विधेयक दर्ता भएका छन् ।
सभामा गत पुस महिनामै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुबिधा सम्बन्धि ऐनको संशोधन विधेयक, गत माघमा प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणिकरण ऐन २०७४ को संशोधन विधेयक, गत फागुनमा कर तथा गैरकर राजश्व सम्वन्धि ऐनको संशोधन विधेयक दर्ता भएका छन् ।
यस्तै प्रदेशसभामा प्रदेश राष्ट्रिय वनको संरक्षण र सुव्यवस्था गर्न बनेको विधेयक, प्रादेशिक सहकारी सम्वन्धि विधेयक, सूचनाको हक सम्वन्धि विधेयक, प्रादेशिक व्यापार व्यवसाय सम्वन्धि विधेयक, प्रदेशको सार्वजनिक सडक व्यवस्था तथा सञ्चालन विधेयक दर्ताको तयारीमा रहेको जानकारी छ ।
