विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत : नेता पौडेल

तु खबर संवाददाता
२०७५ चैत्र ९, शनिबार १२:२३
file-photo

सिन्धुली, ९ चैत्र । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको कम्युनिष्ट सरकार शक्ति केन्द्रीकरण गर्नतर्फ लागेकाले लोकतन्त्र खतरामा परेको बताएका छन् । आज नेपाल प्रेस युनियन सिन्धुलीले आयोजना गरेकोे पत्रकार सम्मेलनमा वरिष्ठ नेता पौडेलले अहिलेको सरकार एक वर्षको अवधिमा पूर्ण असफल भएको बताए । “ठूला आयोजना, सेनाको अधिकार र न्यायिक निकायको अधिकार आफ्नो साथमा लिँदा लोकतन्त्र नै खतरामा परेको छ”, उनले भने । शान्ति, सुरक्षा, सुशासन, विकास र समृद्धिका आधारमा सरकार असफल भएको उनको आरोप छ ।

विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाउनु गलत भएको नेता पौडेलको भनाइ थियो । “कुनै पनि समूहलाई दबाबमा राख्न खोजे मुलुकमा शान्ति र लोकतन्त्र खतरामा पर्ने भएकाले सरकारले यस कदममा पुनःविचार गर्नुपर्छ”, उनले भने । राष्ट्रियता र लोकतन्त्र कमजोर हुने विषयमा जनमत सङ्ग्रह गर्न नसकिने उनले बताए । नेपाली काँगे्रसले आइतबारदेखि ‘मधेश संवाद अभियान’ सञ्चालन गर्न लागेको नेता पौडेलले बताए ।