सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न

तु खबर संवाददाता
२०७५ फाल्गुन २३, बिहीबार ११:२५

कैलाली,२३ फागुन । माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप कैलालीको धनगढीमा मंगलबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश स्तरीय दुई दिवसीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

उक्त अवसरमा गृहमन्त्री थापाले हाल मुलुकमा कानुन निर्माणको क्रममा रहेको चर्चा गर्दै हालसम्मका समस्यालाई निर्मूल गर्ने र राष्ट्रिय हितमा कुनै असर नपर्ने गरी कानुनमा नै समावेश गरिने बताए । आर्थिक अपराधी, संघीयता, संविधान तथा राष्ट्रिय अखण्डता विरोधी, समाजिक अपराधी, विकास निर्माणमा बाधा पुर्याउनेलगायत चोरी तस्करी गर्ने जस्ता आपराधिक तत्वलाई निस्तेज पार्ने जिम्मेवारी सुरक्षा निकायको भएकोले त्यही अनुसार काम गरी राष्ट्रलाई विकास र समृद्धिको बाटोमा अगाडि बढाई नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपाल भन्ने राष्ट्रिय संकल्पलाई सफल पार्न गृहमन्त्री थापाले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महत्वपूर्ण र विशेष भूमिका निर्वाह गर्न गोष्ठीले भूमिका निभाउने चर्चा गर्दै गोष्ठीमा भएको छलफल, अन्तरक्रिया, प्रस्तुतीकरण सबैका लागि फलदायी हुने विचार व्यक्त गरे । गोष्ठीका उपलव्धीलाई सदुपयोग गरी सबै सुरक्षा निकायका अङ्गहरू देश निर्माणमा जुटनु पर्नेमा उनले जोड दिए ।

शान्ति सुरक्षा, अपराध अनुसन्धान, विपद व्यस्थापनलगायतका कार्य सँगैसँगै सुशासनमा पनि सुरक्षा निकायहरू सुझबुझका साथ आफ्नोतर्फबाट जुटनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले गोष्ठीका निष्कर्षले यसबारे नीति निर्माण तथा तल्लो तहसम्म साझा धारणा बनाउन सहज हुने बताए ।

अपराध अनुसन्धान सम्वन्धी महत्वपूर्ण तथ्यगत प्रस्तुतीकरण गर्दै प्रहरी महानिरीक्षक खनालले कर्तव्य ज्यान, जबरजस्तीकरणी, अपरहण, लागूऔषध, हातहतियार, मावनबेचबिखन जस्ता जघन्य अपराध नियन्त्रण तथा अभियुक्त पक्राउ गर्न नेपाल प्रहरीले विशेष अभियान चलाएको बताए ।

यसका लागि सबै सुरक्षा निकायले समान धारणा बनाई सक्रियता बढाउनु पर्नेमा उनले जोड दिए । समाजका कुनै पनि गतिविधिमा सुरक्षा निकायले ध्यान केन्द्रीत गरे नागरिकले सुख पाउने धारणा समेत उनले व्यक्त गरे ।

गोष्ठीमा प्रदेशको विद्यमानशान्ति सुरक्षाको अवस्था, समस्या तथा चुनौती र त्यसका समाधानका उपाय एवम् आगामी कार्यक्रमलगायत विविध विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।