काँग्रेस संसदीय दलद्वारा मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त

तु खबर संवाददाता
२०७५ फाल्गुन १६, बिहीबार १३:०३

काठमाडौँ, १६ फागुन । नेपाली काँग्रेस संसदीय दलले ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति दुःख व्यक्त गरेको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार राति एक विज्ञप्ति जारी गरी मन्त्री अधिकारीसहित मृत्यु भएका सातै जनाप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

“शालीन तथा भद्र व्यक्तित्वका युवा एवं जुझारु नेता अधिकारीको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छ, उहाँहरुको निधनले हामीलाई अत्यन्त मर्माहत बनाएको छ”, विज्ञप्तिमा भनिएको छ ।

काँग्रेस संसदीय दलले दिवङ्गत आत्मको चीरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।