उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच शिष्टाचार भेटवार्ता

तु खबर संवाददाता
२०७५ फाल्गुन १३, सोमबार १२:२७

काठमाडौँ, १३ फागुन । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरसँग आज शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्धलाई परिवर्तित सन्दर्भमा कसरी सुदृढ गर्ने तथा नेपालको आर्थिक विकास र समृद्धिमा कसरी सहयोग जुटाउने भन्ने विषयमा छलफल भएको थियो ।

भेटमा उपप्रधामन्त्री पोखरेलले नेपालको नयाँ बन्ने राष्ट्रिय सुरक्षा नीति, सुरक्षा निकायलाई व्यवस्थित र सुदृढ गर्ने सोचका बारेमा जानकारी गराएपछि राज्यमन्त्री फेल्टरले सहयोगको निरन्तरता हुने उल्लेख गरेका थिए ।

उपप्रधामन्त्री पोखरेलले अप्ठ्यारो स्थितिमा नेपाललाई अमेरिकाले सहयोग गरेको उल्लेख गर्दै नेपालका सुरक्षा अङ्गलाई कसरी व्यवस्थित र सुदृढ बनाउने भन्नेबारेमा पनि विमर्श भएको जानकारी दिए ।