सामाजिक सञ्जाल चलाउन पाइने : मन्त्री बास्कोटा
काठमाडौं ९ फागुन । सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले फेसबुकलगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्ला निराधार रहेको बताएका छन् ।
मन्त्रिपरिषद बैठकबारे जानकारी दिन बिहिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले फेसबुक, ट्वीटर, युट्युव जस्ता सामाजिक सञ्जाल चलाउन पाइने तर त्यसलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले ऐन ल्याउन लागेको बताएका हुन् ।
मन्त्री बास्कोटाले भने– ‘संसारमा यसको जुन किसिमको प्रयोग छ, हाम्रोमा यसबारेमा स्पष्ट कानुन थिएन । कयौं साइबर अपराधबारे तपाईहरुले नै लेख्नुहुन्छ, कहाँ छानविन गर्ने, कहाँ उजुरी गर्ने, कसरी कारवाही गर्ने यो केही थिएन । अब ह्याकिङ्ग हुन्छ, २४ दिन पुलिसले समात्ने छोडिदिने, त्यसबाट ब्यक्तिलाई संस्थालाई कति क्षति हुन्छ, ती चिजहरुलाई अगाडि बढाउन खोजिएको हो । तर बढदो सुचना प्रविधिलाई नै रोक्ने हिसाबले कानुन आउन लाग्यो कि भन्ने छ त्यो हैन ।’
उनले कुनै पनि व्यवसाय गर्न दर्ता हुनुपर्ने बताउदै फेसबुक लगायतका सामाजिक सञ्जाल अरु देशमा दर्ता गरेरै चलाइएको उल्लेख गरे । कानुन नियम हरेक देशमा हुने भन्दै सरकारले पनि त्यसलाई प्रयोग गर्न खोजेको उनले बताए । सामाजिक सञ्जाल र मुलधारको पत्रकारिता एउटै नभएको बताउँदै उनले सामाजिक सञ्जाल व्यवस्थित गराउन खोज्दा प्रेस स्वतन्त्रतासँग जोडेर व्याख्या विश्लेषण गर्नु आफैलाई धोका दिनु सरह हुने उनको भनाई छ ।
