स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न त्रिवि उपकूलपति कार्यालय घेराउ

तु खबर संवाददाता
२०७५ फाल्गुन ६, सोमबार १३:४७

काठमाडौं ६ फागुन ।  स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउ गरेका छन् ।

स्ववियु निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दिँदै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ गरेका हुन् ।

फागुन १४ गतेका लागि तय गरिएको स्ववियु निर्वाचनको कार्यतालिका आजै (सोमबार) सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ ।

सोही कार्यतालिका अनुसार स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेकोमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले आपत्ति जनाएका छन् ।

घेराउका क्रममा विद्यार्थी नेताहरुले स्ववियु निर्वाचन टार्न लागि परेको भन्दै त्रिविका उपकूलपति खनियाँको राजीनामा माग गर्दै चर्का नाराबाजी पनि गरेका थिए ।