मुलुकभरका स्रोत व्यक्ति मावि तहको शिक्षकमा समायोजक गर्ने तयारी

तु खबर संवाददाता
२०७५ फाल्गुन २, बिहीबार १४:२५

काठमाडौंँ ०२ फागुन । सरकारले मुलुकभरका स्रोत व्यक्तिलाई माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरेको छ । शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालयमा रहने गरि स्रोत व्यक्तिको रुपमा काजमा ल्याईएका सबै माध्यमिक तहका शिक्षकहरुलाई काज फिर्ता गरि पुन शिक्षकमा नै समायोजन गर्ने तयारी गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यसबारे राष्ट्रियसभाको बिहिबारको बैठकमा जानकारी गराएका हुन् । उनले मुलुकभरका १ हजार ५३ जना मध्येबाट ७५ जना शुद्ध स्रोतव्यक्ति बाहेकलाई काज फिर्ता गरि माध्यमिक तहको शिक्षकमा समायोजन गर्ने तयारी गरिएको जानकारी दिए ।

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा गईसकेकाले सरकारले स्रोत व्यक्तिहरुको काज फिर्ता गरि शुद्ध स्रोत व्यक्ति ७५ जनालाई अस्थायी शिक्षक सरह सुविधा उपलब्ध गराउने गरि मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको मन्त्री पोखरेलले बताए । काज फिर्ता बाहेक अस्थायी शिक्षकको रुपमा रहने स्रोत व्यक्तिलाई स्थानीय सरकारले आवश्यकता अनुसार निर्णय गर्न सक्ने गरि प्रस्ताव तयार पारिएको छ ।

उनले प्राविधिक शिक्षा व्यवसायीक तालिमका लागि विद्यमान ऐन र नीति अनुसार कार्यक्रम विकास गरि कार्यान्वयन भईरहेको जानकारी दिए । सोही अनुसार मुलुकभर ४५ वटा प्राविधिक तथा वहुप्राविधिक शिक्षालय, ५ वटा साझेदारीका शिक्षालय र ४ सय ८१ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम संचालनमा रहेको मन्त्री पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेललाई राष्ट्रियसभा सदस्यहरु राधेश्याम अधिकारी, राम लखन चमार, राम नारायण विडारी, वृषेशचन्द्र लाल, प्रकाश पन्तले प्रश्न गरेका थिए । बैठकले राष्ट्रियसभा नियमावली २०७५ संशोधन मस्यौदा समितिको समय थप गरेको छ ।

नियमावली संशोधनका लागि पुस १३ गतेमा संशोधन मस्यौदा समिति गठन गरेको थियो । समितिले पुस २९ गतेबाट काम सुरु गरेको थियो । बैठकले आजका मितिबाट लागु हुने गरि १५ दिन थप गर्ने प्रस्तावलाई सर्वसम्मति पारित गरेको हो । राष्टियसभाको अर्काे बैठक फागुन ३ गते शुक्रबार अपरान्ह ३ बजे बोलाईएको छ ।