प्रधानमन्त्री ओलीद्वारा नेपाल पानीजहाज कार्यालय उद्घाटन

तु खबर संवाददाता
२०७५ फाल्गुन २, बिहीबार ११:५३
file-photo

काठमाडौं ०२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान आयोजित एक समारोहकाबीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीको निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।

महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो ।

यसअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनको क्रममा नेपालले आफ्नै पानीजहाज चलाउने बताउँदा मजाकमा उडाइएको थियो । त्यसैले ओली नेतृत्वको वर्तमान सरकारले पानीजहाज चलाउने योजनालाई प्रतिष्ठाको विषय बनाएको छ ।