छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने : अध्यक्ष प्रचण्ड

तु खबर संवाददाता
२०७५ फाल्गुन १, बुधबार १६:५५

काठमाडौँ, ०१ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताएका छन् । बुधबार पार्टी मुख्यालय धुम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उनले यस्ता बताएका हुन् ।

उनले शहीदप्रति श्रद्धाञ्जलि कार्यक्रमले पार्टी एकतामा थप ऊर्जा प्राप्त गर्ने अवसर रहेको बताए । “कार्यकर्तामा पार्टी एकता जनसङ्गठनको एकता ढिलो भइरहेको बेला के होला कसो होला भनेर चिन्ता बेलाबेलामा प्रकट हुने गर्दथ्यो”, उनले भने, “अब हामी पार्टी एकता केही दिनभित्र पूरा गर्न लागिरहेका छौँ । केही दिनभित्र पार्टी एकता र जनसङ्गठनको एकतालाई टुङ्ग्याएर एउटा राष्ट्रव्यापी अभियानमा अगाडि बढ्ने छौँ ।” उनले पार्टी एकता सफल पार्न एक/दुई जना नेताले मात्र नभएर सबै नेता, कार्यकर्ता लाग्नुपर्नेसमेत धारणासमेत राखे ।

जेठ ३ र फागुन १ गतेलाई वैचारिक राजनीतिक एकतालाई सुदृढ गर्ने र हामीभित्र सङ्गाठनिक भावनात्मक एकतालाई मजदुत बनाउने अवसरको रुपमा लिनुपर्ने उनको भनाइ रहेको बताए । उनले सबै राजनीतिक दलको सहमति र सहकार्यबाट मुलुकलाई छिटोभन्दा छिटो विकासका राम्रा काम गरेर जनताको सपना पूरा गर्नुपर्ने बताए ।