नेपाली काँग्रेस मकवानपुरको माघ २१ गते चार नाकाबाट बिरोध र्याली हुने
मकवानपुर २० माघ । नेपाली काँग्रेस मकवानपुर जिल्ला कार्य समिति मकवानपुरले माघ २१ गते गर्ने विशाल विरोध प्रदर्शनमा प्रदेश ३ को राजधानी हेटौंडाको चार नाकाबाट जिल्ला तहका शीर्ष नेताहरुको कमाण्डमा प्रदर्शन गर्ने भनिएको छ ।
आज हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरि सोमबार हुने कार्यक्रमबारे जानकारी दिइएको थियो । नेपाली काँग्रेस केन्द्रीय कार्यालयको निर्णय अनुसार नै माघ २१ गते देशभर अहिलेको सरकारको विरुद्ध विशाल विरोध प्रदर्शन हुने भएको हो ।
जिल्लाका विभिन्न शिर्ष नेताहरुको कमाण्डमा बजारको चार क्षेत्रबाट र्याली निकालेर बुद्धचोकमा आइ कोण सभामा परिणत गरिने जनाइएको छ ।
हेटौंडा १ मा रहेको साझा सुमो काउन्टरबाट प्रमुख सल्लाहकार रामचन्द्र अर्याल माइकल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विक, जिल्ला तहका नेताहरु रहने छन् । यस्तै हेटौंडा १ र २, गढी गाउँपालिका, भीमफेदी गाउँपालिका, इन्द्रसरोवर, थाहा नगर र कैलाश गाउँपालिकाबाट सहभागि रहनेछन् ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालयबाट पार्टी सचिव बुद्ध लामा, जिल्ला तहका नेताहरु सहित मनहरी गाउँपालिका, राक्सिराङ गाउँपालिका, हेटौंडा ३, १०, ११, १९ वडाबाट सहभागिता रहने जनाइएको छ ।
त्यस्तै, वन विज्ञान अध्ययन संस्थानबाट निवर्तमान सभापति रघुरमण न्यौपाने, पार्टी प्रवक्ता प्रदिप कोइरालाको नेतृत्वमा हेटौंडा ४, ८, ९, १२, १३, १४, १५ वडाबाट सहभागिता रहनेछन् ।
सानोपोखरा चोकबाट भने प्रदेश ३ का संसदीय दलका नेता तथा पार्टी सभापति इन्द्र बहादुर बानियाँ, उपसभापति विष्णु प्रसाद लामिछाने, सह–सचिव रामबाबु बानियाँको नेतृत्वमा हेटौंडा ४, ६, ७, १६, १७, १८, गढी गाउँपालिका, बकैया गाउँपालिका, बाग्मती गाउँपालिकाबाट सहभागिता जनाउने बताइएको छ । चार नाका बाट १० हजार भन्दा बढीको विशाल प्रदर्शन गरि बुद्धचोकमा पुगेर कोण सभामा परिणत हुने प्रवक्ता कोइरालाले बताए ।
