पारित भयो राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५
हेटौडा १७ माघ । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको अवरोधबीच राष्ट्रियसभाले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ बहुमतले पारित गरेको छ ।
यसअघि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विधेयकमाथि दफावार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त प्रस्तावमा तीन सांसदले संशोधन पेश गरेका थिए । संशोधन प्रस्ताव प्रस्तुत गर्दै सांसद वृषेशचन्द्र लालले विधेयकलाई संशोधनसहित विधायन समितिमा पठाउन माग गरेका थिए ।
“सरकारले डा. गोविन्द केसीसँग गरेको सहमति पालना गर्नुपर्छ, सहमति संविधानविपरीत गरेको भए त्यस्तो सरकार एक मिनेट पनि रहन सक्दैन, संविधानबमोजिम नै सहमति गरेको भए कुन अहं र दम्भले सरकार यसबाट पछि हट्यो ?”, उनले भने ।
संशोधन प्रस्ताव राखेका सांसद राधेश्याम अधिकारी र सरिता प्रसाईंले आँफूहरु अवरोधसहित विरोधमा रहेकाले भाग नलिने जानकारी गराएका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विधेयकले डा. गोविन्द केसीसँगको सम्झौताको मूलभूत पक्षलाई समेटेको बताए । “विधेयकमा आयोग गठनको व्यवस्था रहेकाले चिकित्सा शिक्षा सुधारका लागि अझै काम भइरहनेछ, विधेयक पारित भए पनि डा. गोविन्द केसीको जीवनरक्षाका लागि अभिभावकका रुपमा सरकार लागिपर्नेछ”, उनले भने । सभाको अर्को बैठक यही माघ २० गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।
