प्रतिनिधिसभा बैठक माघ २० गतेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०७५ माघ १७, बिहीबार १५:०३

काठमाडौँ, १७ माघ । संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण स्थगन भएको छ ।

सभामुख कृष्णबहादुर महराले संसद्को बैठक शुरु गर्ने बित्तिकै काँग्रेसका सांसदहरुले उठेर विरोध जनाएपछि सांसद डा. मीनेन्द्र रिजालले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले शान्ति प्रक्रिया एवं संविधान निर्माणमा पु¥याएको योगदान बिर्सन खोजिएको हो भनी प्रश्न गरे ।

“डा गोविन्द केसी अनशनमा छन्, यत्तिकैमा चिकित्सा शिक्षा विधेयक पारित गरियो, गलत अभ्यासको शुरु भयो , संसद्ले गर्ने त्रुटिलाई सच्याउने हो, त्यो बाटो बन्द भयो ।”, सांसद रिजालले भने ।

संवैधानिक परिषद्ले विभिन्न आयोगका प्रमुखमा सिफारिश गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई उपेक्षा गरिएको गुनासो गर्दै जनताप्रति सरकारलाई उत्तरदायी गराउन सभामुखको भूमिका हुनुपर्ने उनको भनाइ थियो ।

सभामुख महराले पटकपटक काँग्रेस सांसदहरुलाई आफ्नो सिटमा बस्न आग्रह गर्दा पनि नबसी उठेर विरोध जनाएपछि सभामुख महराले माघ २० गते आइतबार ३ बजे सम्मका लागि बैठक स्थगन गरेका हुन् ।