राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी
काठमाडौँ, १३ माघ । राष्ट्रियसभाको सोमबारका लागि निर्धारित बैठक बिना अवरोध सञ्चालन गर्न राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सहमतिको प्रयास जारी रहेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अध्यक्षतामा आज बसेको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको प्रयास भएको संघीय सचिवालयका सहसचिव मुरारी महतले जानकारी दिए ।
यही माघ ११ गते प्रतिनिधिसभा बैठकबाट प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारित भएपछि सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलबीच केही दूरी बढेको देखिएको छ ।
प्रमुख प्रतिपक्षी दल काँग्रेसले सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका दुई अस्पताल विघटन गर्न खोजेको भन्दै संसद् अवरुद्ध गर्दै आएको छ ।
