सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जनपक्षीय : सभापती घर्ती

तु खबर संवाददाता
२०७५ माघ ९, बुधबार १४:०९

काठमाडौं ९ माघ । शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सरकारले ल्याएको चिकित्सा शिक्षा विधेयक जनपक्षीय भएको बताएकी छिन् ।

बुधबार निजी प्राविधिक शिक्षालय, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स र सीटीईभीर्ट कर्मचारी संगठनको ज्ञापनपत्र बुझ्दै घर्तीले सातवटै प्रदेशका विद्यार्थीले मेडिकल शिक्षा पढ्न पाउनुपर्छ भनेर चिकित्सा शिक्षा विधेयकमा आवश्यक व्यवस्था गरिएको बताएकी हुन् ।

उनले भनिन, ‘नेपाल भनेको काठमाडौं मात्र होइन, सात प्रदेश पनि हो । त्यहाँ पनि नेपाली जनता छन् । सातवटै प्रदेशकालाई पढ्न दिनुपर्छ भनेर काठमाडौंभन्दा बाहिर अलिकति ओपन गरेका छौं । स्वास्थ्य शिक्षा मौलिक अधिकारको रुपमा राखेको छ संविधानमा । अझ निःशुल्क बनाउने प्रावधान राखिएको छ । त्यसतर्फ ओरियन्टेसन गर्नका लागि हामीले १० वर्षपछि नाफामुलक र सेवामूलक बनाउने भनेर राखेका छौं ।’

उनले मेडिकल शिक्षालाई सबैको पहुँचमा र्पुयाउन छात्रवृत्तिको व्यवस्था गरेको जानकारी पनि दिइन् । ‘छात्रवृत्तिको व्यवस्था पनि गरेका छौं । धेरै जनपक्षीय कुराहरु राखेका छौं,’ उनले भनिन् ।