धर्म परिवर्तन भईरहे नेपाल धार्मिक द्वन्दको चक्रव्युमा पर्ने : राप्रपाका अध्यक्ष थापा

तु खबर संवाददाता
२०७५ माघ ७, सोमबार १४:३३

मकवानपुर ७ माघ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले वाईडबडि विमान खरिद भ्रष्टचार प्रकरणमा सबै ठुला पार्टी संलग्नता रहेको आरोप लगाएका छन् ।

सोमबार हेटौडामा हिन्दुराष्ट्र पुर्नस्थापना जनजागरण अभियान घरदैलो कार्यक्रमलाई सम्बोधन गर्नु अघि पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले केही वर्ष यता नेपालको हिन्दु, बौद्व तथा किराँतजस्ता सनातन धर्ममाथी योजनाबद्व र सांगठनिक आक्रमण भईरहेको आरोप लगाए । थापाले भने लोभ र लालच देखाएर धर्म परिवर्तन गराउने काम भईरहेको भन्दै यसले नेपालको पहिचान र राष्ट्रिय एकता कमजोर हुने खतरा भएको बताए ।

यस्तैगरी धर्म परिवर्तन भईरहे नेपाल धार्मिक द्वन्दको चक्रव्युमा पर्ने थापाको भनाई रहेको छ । सबै धर्मलाई समान महत्व दिई नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने माग गर्दै जनतामा जागरुकता उत्पन्न गर्ने उद्देश्यले राप्रपाले आज र भोली देशैभर घरदैलो कार्यक्रम गर्न लागेको थापाले बताए ।

कार्यक्रममा राप्रपाका नेता दीपक सिंह, राप्रपाका सहमहामन्त्री राजाराम बर्तौला लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।