तेह्रौं साग निर्धारित मितिमा नहुने भन्दै एनओसीलाई पत्र
काठमाडौँ, ७ माघ । नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने भएको छ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भएको १३ औँ साग पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै ६ महीना पर सार्न साग सचिवालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएको छ ।
साग आयोजनको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला अझै तयार भइनसकेकाले आगामी मार्च महीनाका लागि तय भएको साग सर्ने निश्चित भएको छ । सरकार मातहत गठित १३ औँ साग आयोजना सचिवालयबाट एनओसीलाई पत्र प्राप्त भएको उल्लेख गर्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पूर्वाधार निर्माणलगायत कारण प्रतियोगिता ६ महीना सार्न पत्र प्राप्त भएको जानकारी दिए ।
यसैबीच पूर्वाधार अभावकै करण मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूदसमेत पटक पटक सर्दै आएको छ । प्रदेश नंं ५ मा हुने तय भएको उक्त प्रतियोगिता आगामी फागुनमा गर्ने सहमति भए पनि अझै मिति टुङ्गो लाग्न सकेको छैन । प्रतियोगिता आयोजना गर्ने विषयमा राखेपकै पदाधिकारीबीच एकमत नहुँदा प्रतियोगिता कहिले गर्ने भन्न टुङ्गो लाग्न नसकेको राखेप सञ्चालक समितिका एक सदस्यले भने ।
