पार्टीमा अनुशासनको खाँचो छ : काँग्रेसका सभापति देउवा
दमौली, ६ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताए । तनहुँ काँग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए ।
विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै सभापति देउवाले केही गुनासो भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताए ।
सबै एकजुट भएर अगाडि बढे काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिए ।
