महिला टी–२० : नेपाल लगातार तीन खेल जित्दै सेमिफाइनलमा

तु खबर संवाददाता
२०७५ पुष ३०, सोमबार १६:०३

काठमाडौं ३० पौष । थाइल्याण्डमा भइरहेको महिला टी–२० स्मास क्रिकेटमा लगातार तीन खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले हराउदै नेपाल सेपमिफाइनलमा पुगेको हो ।

सोमबार पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो ।

नेपालकी सीता राना मगरले ३७, काजल श्रेष्ठले २५ साथै इन्दु बर्माले १३ रन बनाइन् । यस्तै रुवीना क्षेत्रीले ९ र नेरी थापाले ६ रन बनाए । बलिङतर्फ नेपालकी सोनु खड्का, सीता राना मगर र करुणा भण्डारीले एक÷एक विकेट लिएका थिए ।

नेपालले यसअघि पहिलो खेलमा चीनलाई १० विकेटले साथै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार थाइल्याण्डसँग खेल्न भएको छ ।