ए डिभिजन लिग : आर्मी क्लबको छैटौँ जित

तु खबर संवाददाता
२०७५ पुष १३, शुक्रबार १३:३४
file-photo

काठमाडौँ, १३ पौष । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो । यो जितसँगै ११ खेल खेलेको आर्मीले २१ अंक जोडेको छ भने अंक तालिकाको चौथो स्थानमा यथावत छ ।

खेलको पहिलो हाफसम्म २–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा पनि समान दुई गोल थप्यो । खेलको ६१ औँ मिनेटमा आर्मीका कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गरे । उनले सन्तोष तामाङको फ्रि किक बललाई सरस्वतीका गोलरक्षक प्रदीप भण्डारीले नियन्त्रणमा लिन नसक्दा आएको रिबाउन्ड बललाई गोलमा परिणत गरेका थिए ।

त्यस्तै आर्मीका लागि चौथो तथा अन्तिम विजयी गोल सरस्वतीका विदेशी खेलाडी ओलुसोला एब्राहिमले उपहारस्वरुप आत्मघाती गोल गरे । एघार खेल खेलेको सरस्वती १० अंकसहित तालिकाको दशौँ स्थानमा छ । खेलमा म्यान अफ द म्याच आर्मीका कप्तान भरत खवास चुनिए ।