धर्मका बारेमा काँग्रेसको धारणा स्पष्ट छ– सिटौला
काठमाडौँ, १२ पौष । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले धर्मका बारेमा काँग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता लिनुपर्ने बताए ।
बिहिबार सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै उनले भने, “हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।” मुलुकमा यतिखेर अनेक अतिवादीहरू सक्रिय हुन खोजेको उल्लेख गर्दै काँग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका नेता सिटौलाले आफूहरूलाई कुनै पनि अतिवादी स्वीकार्य नभएको स्पष्ट पारे ।
नेता सिटौलाले वर्तमान सरकारले जनपअेक्षाअुनसार काम गर्न नसकेको र सबै सरकारी निकायमा हस्तक्षेप गरेको आरोप लगाउँदै यस परिस्थितिमा काँग्रेस जनतामाझ जानुपर्ने धारणा व्यक्त गरे ।
हालै सम्पन्न पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले बैठकबाट पारित विधानअनुसार अब कि छिट्टै महाधिवेशनको तयारीमा जानुपर्ने कि अन्तरिम समयसम्मका लागि पार्टीका संरचना निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे ।–रासस
