‘ए’ डिजिभन लिग : च्यासल र एपिएफको अंक बराबरीे
काठमाडौँ, १२ पौष । शहीद स्मारक ‘ए’ डिजिभन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा च्यासल युथ क्लब र विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) का अंक बराबरी भएका छन् ।
ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को टेक्निकल सेन्टरमा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले १–१ गोलको अंक बराबरी भएका हुन् ।
खेलमा पहिलो अग्रता भने च्यासलले लियो । खेलको पहिलो हाफको ३१ औँ मिनेटमा च्यासलका खेलाडी सन्तबहादुर गुरुङले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाए । च्यासलका विश्व अधिकारीले प्रहार गरेको बल एपिएफका सन्तोषकुमार कटवालले गोल लाइनबाट ‘क्लियर’ गरेका थिए, सोही ‘रिबाउण्ड’ बललाई सदुपयोग गर्दै सन्तले गोल गरेका हुन् ।
खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको च्यासलले दोस्रो हाफमा एक गोल खायो । एपिएफका खेलाडी श्यामकुमार नेपालीले खेलको ५४ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए ।
खेलमा ‘म्यान अफ द म्याच’ एपिएफका श्यामकुमार नेपाली घोषित भए । यस खेलसँगै एघार खेल खेलेको एपिएफले १७ अङ्क जोडेको छ भने समान खेल खेलेको च्यासलको १५ अङ्क भएको छ ।
