हेटौंडामा प्रथम बीपी कप फुटबल प्रतियोगिता–२०७५ आजदेखि शुरु
हेटौंडा ११ पौष । मकवानपुरको हेटौंडा–४ स्थित लोकतान्त्रिक मैदान हुप्रचौरमा आजदेखि प्रथम बीपी कप फुटबल प्रतियोगिता–२०७५ शुरु हुँदैछ ।
नेपाल लोकतान्त्रिक खेलकुद महासंघ जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा प्रथम बीपी कप फुटबल प्रतियोगिता–२०७५ हुन लागेको हो । प्रथम बीपी कप फुटबल प्रतियोगिता–२०७५ को आज हुने पहिलो खेलमा हेटौंडा–५ र १५ नम्बर वडाबीच खेल हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडासहित गढी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, भीमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका, इन्द्रसरोबर गाउँपालिका र थाहा नगरपालिका गरी २५ टोलीको सहभागिता रहने आयोजक महासंघले जानकारी दिएको छ ।
प्रतियोगिताको विजेताले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र, उपविजेताले नगद २५ हजार रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र र विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।
