आन्तरिक एकता सुदृढको पक्षमा नेकपा नेताहरु
काठमाडौँ, ६ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको तेस्रो बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४१ जना स्थायी कमिटी सदस्यले विचार राखेका छन् ।
गत मङ्सिर २९ देखि शुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ बजेदेखि करिब तीन घण्टा बसेको थियो । बैठकमा नेताहरु ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, सुवासचन्द्र नेम्वाङ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट र छविलाल विश्वकर्माले विचार व्यक्त गरेका थिए ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा छलफल चलिरहेको नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएगरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसंठनको एकतालगायत विषय समावेश छन् । –रासस
