संविधान कार्यान्वयन आवश्यक– पूर्वराष्ट्रपति यादव
काठमाडौँ, २७ मङ्सिर । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेको बताए ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्वारा लिखित पुस्तक ‘नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवाद’ को आज विमोचन गर्दै उनले काँग्रेसको विचार र सिद्धान्तअनुसारको संविधान जारी भएको उल्लेख गर्दै संविधान कार्यान्वयनमा काँग्रेस नै बढी जिम्मेवार हुनुपर्ने बताए ।
उनले संविधानमा धर्म निरपेक्षताको व्यवस्था भए पनि मुलुकका विभिन्न भागमा धर्म परिवर्तनको क्रम तीव्र रुपमा बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । विकास निर्माणका ठूला पूर्वाधारले तराई र चुरे क्षेत्रको वन विनाश हुँदा भूक्षय र मरुभूमिकरण बढ्दै गएको भन्दै यसलाई संरक्षण गर्न ध्यान दिनुपर्ने उनको आग्रह थियो ।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले काँग्रेस र कम्युनिष्टको समाजवादका सम्बन्धमा देखिएको विवाद र बहसको सन्दर्भमा आफूले पुस्तकमा काँग्रेसको लोकतान्त्रिक समाजवादका सम्बन्धमा स्पष्ट पारेको बताए ।
विश्वमा राजनीतिक विचारधारा कमजोर भयो भने समाजमा अराजकता र विचलन हुने भन्दै उनले विचारकै प्रधानता हुनुपर्ने बताए । काँग्रेसमा विचारको खडेरी नभई बहसको आवश्यकता रहेको उनको जोड थियो । –रासस
