२९ गतेको बैठकले नेकपाको नेतृत्व चयन गर्ने, मकवानपुरमा श्रीधर पोखरेलको संभावना बलियो

तु खबर संवाददाता
२०७५ मंसिर २४, सोमबार १९:०१

मकवानपुर २४ मङ्सिर । गत जेठमा तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपाको जिल्ला नेतृत्व अहिलेसम्मनै अन्यौलमा छ । पार्टीको केन्द्रिय र प्रदेशको नेतृत्वको बाँडफाँड भएपनि मुलुकको ७७ वटै जिल्लाको नेतृत्व भने टुङ्गोमा पुग्न सकेको छैन ।

जिल्ला नेतृत्वको बाँडफाँडको लागि काम शुरु भएको लामो समय बितिसक्दा समेत जिल्ला नेतृत्वको निचोड निस्किन नसक्दा पार्टीका कार्यकर्ताहरु समेत निराश बन्न थालेका छन् । त्यसोत नेतृत्वको लागि निकै विवादका कारण मकवानपुरमा पनि नेकपाको नेतृत्व चयनमा समस्या देखिएको छ ।

प्रदेशले मकवानपुरमा नेकपा नेतृत्वको लागि सचिवमा माओवादी केन्द्रबाट जिवन विष्ट आदर्शको नाम सिफारिस गरेको छ भने अध्यक्षमा बद्री लम्सालको नाम सिफारिस गरेको छ । तर अध्यक्ष पदको लागि जिल्लाका नाम चलेका पुराना नेता श्रीधर पोखरेलको पक्षमा पार्टीभित्र लभिङ् भईरहेको स्रोतको भनाई छ । मकवानपुरमा अध्यक्षको लागि थोरै संभावना एकलाल श्रेष्ठको पनि रहेको छ ।

केन्द्र र प्रदेशको नेतृत्व टुङ्गो लगाईसकेको नेकपाले विवादका कारण जिल्ला अध्यक्ष र सचिव भने चयन गर्न नसकेको बुझिएको छ । मकवानपुरमा नेकपा नेतृत्व चयन हुन नसक्दा पार्टी निकट विभिन्न संगठन तथा कार्यकर्ताहरुमा अन्यौलता थपेको छ । तर आफ्नो नाम सिफारीस भएका नेताहरु भने केन्द्रमा आफ्नो पक्षमा निर्णय गराउन दौडधुपमै व्यस्त देखिएका छन् । नेकपा मकवानपुरका एक नेताले भने ‘ मकवानपुरमा श्रीधर पोखरेलको संभावना बलियो देखिन्छ । सचिवमा जिवन विष्ट आदर्शकै नाम अग्र स्थानमा छ । सायद निर्णय पनि यहि हुनेछ ।’

नेकपा स्रोतको अनुसार यहि मंसिर २९ गते स्थायी कमिटिको बैठक बस्ने तयारी गरिएको छ । सोही बैठकलेनै मकवानपुरमा नेकपाको नेतृत्व चयन गर्नेछ ।
स्रोतका अनुसार अन्य जिल्लामा सिफारिस भएको नाममा हेरफेर नभएपनि मकवानपुरमा भने हेरफेर हुनसक्ने संभावना देखिन्छ । सिफारीसमा परेपछि नेकपा मकवानपुरको अध्यक्षको रुपमा सभा तथा समारोहमा सम्मान लिँदै आएका बद्री लम्सालको विषयमा पार्टीभित्रै निकै विवाद आएको कारण उनले नतृत्व पाउने संभावना कमै देखिएको स्रोतको जानकारी छ ।  लामो समयदेखि पार्टीमा योगदान दिएको हिसाबले पनि पोखरेललाईनै नेतृत्वको अवसर दिनुपर्ने पार्टीका कार्यकर्ताहरुको धारणा छ । पोखरेलको लभिङ् केन्द्रमा अहिले बलियो देखिएकोले पोखरेललेनै मकवानपुरको नेतृत्व गर्ने संभावना रहेको स्रोतको दाबी छ ।

यताकता नेकपा मकवानपुरको सचिवमा सिफारिसमा परेका विष्टको पनि हेरफेर हुनसक्ने संभावना रहेको नेकपा निकट स्रोत बताउँछ ।